युवालाई स्टार्टअप कर्जा दिन तीन सरकारी निकायबिच सम्झौता

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

एउटा योजनालाई पाँचदेखि २५ लाखसम्म कर्जा 

नयाँ सोचको उद्योग वा व्यवसाय सुरु गर्न चाहने युवालाई बिउपुँजी जटाइदिने उद्देश्यले जारी भएको ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, ०८१’ लागू गर्न औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नयाँ सोचअनुसारको व्यवसाय गर्न चाहने युवालाई बिउपुँजी लगानी गर्न प्रतिष्ठानले पाँचदेखि २५ लाख रुपैयाँसम्म ऋण दिन सिफारिस गर्ने, बैंकले ऋण दिने र कोषले ऋणको सुरक्षण गर्ने गरी समझदारी भएको हो ।

समझदारीपत्रमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कार्यक्रममार्फत देशमा उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सहयोग पु¥याई रोजगारीसमेत सिर्जना हुने बताए । उनले तीन निकायबिच भएको समझारीले स्टार्टअप योजनालाई कार्यान्वयन गर्न सघाउ पुग्ने पनि बताए । ‘चालू आवमा सरकारको उच्च प्राथमिकतामा रहेको स्टार्टअप कार्यक्रम कार्यान्वयन गर्दा निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्नेछौँ,’ उनले भने । 

उद्योग सचिव कृष्णबहादुर राउतले कार्यविधिलाई कार्यान्वयन गर्न सके उद्यम गर्न चाहने युवामा हौसला बढ्ने बताए । उनले आन्तरिक रोजगारी वृद्धि गर्नुपर्ने चुनौतीलाई स्टार्टअप योजनाले सहयोगसमेत पुग्ने भएकाले सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्न खोजेको जानकारी दिए ।

उनले निजी क्षेत्रलाई समेत स्टार्टअपका योजना अघि बढाउन आग्रह गर्नुपर्ने पनि बताए । ‘नयाँ उद्यमलाई स्वागत गर्ने निर्णय गर्नु बहुत गाह्रो विषय हो, तर सरकारले सहयोग गरे पनि सहज हुन्छ भन्ने धारणा हो,’ सचिव राउतले भने ।

सुझावित समाचार