हेटौँडा उपमहानगरपालिका– १० बसपार्कस्थित रत्ना होटेलमा गत भदौ १० गते मृत फेला परेकी एलिशा न्यौपानेको हत्याको मुख्य आरोपी समीर खान भन्ने चाँद खाँ पैठानलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले पैठानलाई हेटौँडा– ५ स्थित लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो । मकवानपुर प्रहरीको प्रारम्भिक अनुन्धानबाट हेटौँडा– ४ कमलडाँडानिवासी २२ वर्षीय समीरले हेटौँडा– ११ सरस्वतीकी २३ वर्षीया एलिशालाई होटेलको कोठामा हत्या गरी फरार भएको खुलेको छ ।
९ गते आइतबार अपराह्न ५ बजेतिर एलिशासँगै समीर होटेलको कोठा नम्बर २०५ मा बसेका थिए । उनीहरू बा.६४प १३५ नम्बरको स्कुटर चढेर उक्त होटेलमा पुगेका थिए । त्यसको भोलिपल्ट भदौ १० गते बिहान एलिशा मृत अवस्थामा होटेलको कोठमा फेला परेकी थिइन् ।
एलिशाको हत्यापछि समीर हाेटेलको झ्यालबाट राति ९ बजेतिर बाहिरिएका थिए । उनले एलिशामाथि दुईवटा बियरको बोतलसहित धारिलो हतियारले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान अबेरसम्म कोठाको ढोका नखुलेपछि होटेल साहुले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजाल र प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी नेतृत्वको टोलीले घटनास्थल पुगेर जनप्रतिनिधिको रोहवरमा कोठा फोडेर हेर्दा एलिशाको शरीर रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो । प्रहरी अनुसन्धानका क्रममा समीर र एलिशा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको पाइएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार हत्याको कारणबाट विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।
प्रहरी प्रवक्ता भण्डारीले घटनापछि समीरलाई भगाउन र लुकाउन सहयोग गरेको आरोपमा निजकी आमा ५५ वर्षीया सैरुन खान, निजकी श्रीमती २६ वर्षीया रविना खातुन, ससुरा वीरगन्ज महानगरपालिका– ३० का ५६ वर्षीय लालबाबु खाँ पैठान, उनका छोरा ३० वर्षीय फैयाज अहमद पक्राउ गरिएको छ । पक्राउ परेका चारैजनालाई मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले जानकारी दिए ।