अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी दर्तामा लापरबाही गर्दा सातदोबाटोको एन्फा कम्प्लेक्समा भइरहेको राष्ट्रिय महिला लिगमा आधा दर्जन खेलाडीले पहिलो खेल गुमाउने सम्भावना बढेको छ । खेल खेल्न २४ घन्टा बाँकी रहँदा विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबका खेलाडीको दर्ता भएका छैनन् । राष्ट्रिय टोलीबाट खेलिसकेका अधिकांश खेलाडीको नाम फिफामा अपडेट भएको छैन ।
‘हामीले समयमै खेलाडी सूची दिएपछि एन्फाले लापरबाही गरेको रहेछ । दर्ता समयमै नगर्दा मुख्य खेलाडीले पहिलो खेल गुमाउने चिन्ता बढ्यो,’ पुलिस क्लबका एक पदाधिकारीले भने, ‘पहिलो खेल नै एपिएफसँग छ ।’ पुलिसबाट राष्ट्रिय टोलीमा रहेका रक्षक अमृता जैशी, पूजा राना, गोलकिपर उषा नाथ र कप्तान निरु थापाको नाम एन्फामा दर्ता भएको छैन ।
एपिएफबाट कप्तान अनिता बस्नेत, सविता रानामगर र मञ्जली कुमारी योञ्जनको नाम समावेश भएको छैन । ‘पुलिसलाई जस्तै समस्या हामीलाई पनि छ । विभागीय प्रतिस्पर्धामा मुख्य खेलाडी नहुँदा समस्या हुन्छ । समयमै एन्फालाई नाम दिएपछि लापरबाही भयो,’ एपिएफका प्रतिनिधिले भने ।