अञ्जिलाले युरोपियन लिग खेल्ने

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

ग्रिसको निस अट्रोमिटाउ क्लबले राष्ट्रिय टोलीकी कप्तान अञ्जिलालाई एक वर्षका लागि गर्‍यो अनुबन्ध

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले युरोपको लिग खेल्ने भएकी छिन् । ग्रिस महिला सुपरलिग क्लब निस एट्रोमिटाउले गोलरक्षक अञ्जिलालाई एक वर्षका लागि सम्झौता गरेको छ । उनले सिजन २०२४/०२५ को लिग खेल्नेछिन् । युरोपियन लिग खेल्न उनी दोस्रो नेपाली महिला खेलाडी हुन् । यसअघि नेपालकी स्ट्राइकर सावित्रा भण्डारी फ्रेन्च लिगमा आबद्ध भएकी थिइन् । इजरायलको लिगपछि सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लब एन इभान्ट गुइनगाम्पमा छिन् ।

अञ्जिलाले पहिलोपटक एसियाबाहिर लिग खेल्न लागेकी हुन् । युरोपको क्लबबाट खेल्न पाउँदा आफू ज्यादै उत्साहित रहेको उनले सोमबार नयाँ पत्रिकालाई बताएकी छिन् ।‘करिअरमा पहिलोपटक युरोपियन लिग खेल्दै छु र धेरै खुसी छु,’ उनले भनिन्, ‘हरेक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ । मेरो पनि थियो । दुई वर्षदेखि लगातार प्रयासमा थिएँ । अहिले त्यो पूरा हुने भएको छ ।’

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध अञ्जिला आबद्ध निसको प्रदर्शन औसत रहेको छ । ग्रिस महिला लिगमा निसले गत सिजन ०२३/०२४ मा औसत प्रदर्शन गरेको थियो । १४ क्लब सहभागी लिगमा निस नवौँ स्थानमा रह्यो । निसले २६ खेल खेल्दा ९ जित, ६ बराबर र ११ खेलमा हार व्यहोरेको थियो । 

अञ्जिला ग्रिसको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछिन् । यसअघि उनले भारतको लिगमा दुई सिजन बिताएकी थिइन् । उनले पाकिस्तानमा एक सिजनका लागि आबद्ध जनाएकी थिइन् । भारतमा सेथु तथा पाकिस्तानमा मासा युनाइटेडबाट उनले कप्तानीको आर्म ब्यान्ड लगाएकी थिइन् । 

साउदीबाट पनि खेल्ने अवसर
नेपाली राष्ट्रिय टोलीकी प्रभावशाली गोलरक्षक अञ्जिलालाई ग्रिसको निसले सम्झौता गर्नुअघि साउदी अरेबियाबाट राम्रो प्रस्ताव आएको थियो । तर, युरोपियन लिग खेल्ने योजना बनाएकी उनले साउदीको लोभलाग्दो प्रस्ताव त्याग्दै ग्रिसलाई रोजिन् । उनले निसले भन्दा साउदी क्लबबाट राम्रो दामका साथ प्रस्ताव राखेको बताएकी छिन् । ‘साउदी लिगबाट पनि राम्रो अवसर आएको छ । सम्झौता रकम पनि राम्रो थियो । तर, मेरो सपना युरोपबाट खेल्नु थियो । यसैकारण मैले निसलाई नै रोजेकी हुँ,’ उनले भनिन् । 

इलामदेखि ग्रिससम्मको यात्रा 
अञ्जिला पाँचथरमा जन्मे पनि इलाममा हुर्केकी हुन् । सानो छँदै बुबाले छाडेपछि आमाको सहारामा रहिन् । घरकी जेठी छोरी अञ्जिलाको फुटबल करिअर ०६८ सालमा भएको छैटौँ राष्ट्रिय खेलकुदबाट सुरु भयो । १४ वर्षको उमेरमै उनी एपिएफमा आबद्ध भइन् । १६ वर्षमै राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी अञ्जिलाले ५० अन्तर्राष्ट्रिय खेल पूरा गरेकी छिन् । 

सन् २०२१ मा पाकिस्तानको मासा युनाइटेडबाट एक सिजन लिग खेलेकी उनी प्रतियोगिता नै बिचमा रद्द भएपछि घर फर्किइन् । त्यसपछि दउनले दुई सिजन भारतको सेथु एफसीबाट खेलेकी थिइन् । ‘भारतमा दुई वर्ष खेलेपछि आत्मविश्वास पनि बढेको छ,’ उनले भनिन्, ‘अब, युरोपमा खेल्न आफूलाई नै तयार भएजस्तो लाग्छ ।’ 

एन्फाको लापरबाहीका कारण खेलाडी दर्तामै समस्या 
अखिल नेपाल फुटबल संघ (एन्फा)ले खेलाडी दर्तामा लापरबाही गर्दा सातदोबाटोको एन्फा कम्प्लेक्समा भइरहेको राष्ट्रिय महिला लिगमा आधा दर्जन खेलाडीले पहिलो खेल गुमाउने सम्भावना बढेको छ । खेल खेल्न २४ घन्टा बाँकी रहँदा विभागीय टोलीद्वय नेपाल पुलिस र एपिएफ क्लबका खेलाडीको दर्ता भएका छैनन् । राष्ट्रिय टोलीबाट खेलिसकेका अधिकांश खेलाडीको नाम फिफामा अपडेट भएको छैन । 

‘हामीले समयमै खेलाडी सूची दिएपछि एन्फाले लापरबाही गरेको रहेछ । दर्ता समयमै नगर्दा मुख्य खेलाडीले पहिलो खेल गुमाउने चिन्ता बढ्यो,’ पुलिस क्लबका एक पदाधिकारीले भने, ‘पहिलो खेल नै एपिएफसँग छ ।’ पुलिसबाट राष्ट्रिय टोलीमा रहेका रक्षक अमृता जैशी, पूजा राना, गोलकिपर उषा नाथ र कप्तान निरु थापाको नाम एन्फामा दर्ता भएको छैन । 

एपिएफबाट कप्तान अनिता बस्नेत, सविता रानामगर र मञ्जली कुमारी योञ्जनको नाम समावेश भएको छैन । ‘पुलिसलाई जस्तै समस्या हामीलाई पनि छ । विभागीय प्रतिस्पर्धामा मुख्य खेलाडी नहुँदा समस्या हुन्छ । समयमै एन्फालाई नाम दिएपछि लापरबाही भयो,’ एपिएफका प्रतिनिधिले भने । 

सुझावित समाचार