बाँकेको नरैनापुर गाउँपालिका– ३ गेग्लीमा झाडापखालाको प्रकोप नभएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताएका छन्।
मृत्यु भएका तीनजनामा झाडापखाला समस्या देखिएको परिवारका सदस्यले बताए पनि ल्याब रिपोर्टमा कोलेराको परजीवी नदेखिएको उनले बताए।
‘भेरी अस्पतालमा उपचाररत नितेश पासीको दिसामा कोलेराको पराजीवी नभएको ल्याब रिपोर्ट आएको छ,’ उनले भने। उनले फरक–फरक मितिमा मृत्यु भएको बताउँदै झाडापखालाको समस्या नभएको स्पष्ट पारे।
उनले एकै घरका तीनजनाको मृत्यु भए पनि फरक–फरक दिन मृत्यु भएको जानकारी दिए। उनका अनुसार १२ भदौ ०८१ मा ३८ वर्षीया उषा पासीको, ६५ वर्षीया शान्ति पासीको १४ भदौमा र १२ महिनाकी नन्दनी पासीको १६ भदौमा मृत्यु भएको जानकारी दिए।
सोही गाउँका १० वर्षीय युसुफ अलि शेखमा ११ भदौको मध्यरात टाउको दुख्ने र ज्वरोको समस्या देखिएपछि उपचारका लागि भोलिपल्ट बिहान भारतको भिंगा लगिएको थियो। उपचारपछि घर फर्किएका बालकको त्यही दिन दिउँसो घरमै मृत्यु भएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख साहले बताए।
उषा, नन्दनी र शान्तिलाई भने झाडापखाला समस्या देखिएको कालाफाँटा स्वास्थ्य चौकी प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए। उषा पासीको भिंगा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो भने शान्तिको घरमै र नन्दनीको उपचारका लागि भारतको घोर्दौरिया लैजाने क्रममा बाटोमा मृत्यु भएको उनले जानकारी दिए।
दुईजनाको गाउँमै उपचारपछि निको भएको र एकजनाको भेरी अस्पतालमा उपचार भइरहेको साहले बताए। उनीहरूको दिसा जाँच गर्दा कोलेराको परजीवी नदेखिएको उनको भनाइ छ।

