मुक्तिनाथ कृषि कम्पनीको छैटाैँ वार्षिकोत्सव सम्पन्न

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको छैटाैँ वार्षिकाेत्सव सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोग, राष्ट्रिय किसान आयोग, गाउँपालिका महासंघ, नगरपालिका संघ, राष्ट्रिय सहकारी महासंघ, उद्योग वाणिज्य महासंघ, विकास साझेदार र कृषि क्षेत्रका विभिन्न २५० भन्दा बढी सरोकारवालाहरूको उपस्थिति थियो।

कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको ‘कृषिमा लगानी दशक’अनुरूप सरकारी, गैरसरकारी, निजी र सहकारी क्षेत्रले खेल्नुपर्ने भूमिकाको सम्बन्धमा कार्यपत्र प्रस्तुतिसहित वक्ताहरूले कार्यपत्रमाथि धारणा राखेका थिए। मन्त्री अधिकारीले न्यून आय भएका किसान र सरकारलाई जोडी कृषकहरूको आयस्तर वृद्धि गर्नका लागि निजी क्षेत्र र सहकारीको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्दै निजी क्षेत्रको लगानीलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए।

त्यस्तै, उनले रैथाने खाद्यान्नको प्रवर्द्धन गर्ने, रासायनिक विषादीको प्रयोगलाई न्यूनीकरण गरी स्वच्छ उत्पादन गर्ने, अनुदान प्रणालीलाई व्यवस्थित र संस्थागत गर्ने तथा चक्लाबन्दी र सामूहिक खेतीलाई प्रवर्द्धन गर्ने मुख्य प्राथमिकतामा राखेको बताए।

कार्यपत्रमाथि दृष्टिकोण राख्ने क्रममा वक्ताहरूले संघ सरकार नीतिगत व्यवस्थापनमा, प्रदेश सरकारहरू औद्योगिक आयोजनाको विकासमा, स्थानीय सरकारहरू उत्पादन र वितरणमा, निजी क्षेत्र प्रविधि प्रसार, उद्योगहरूको सञ्चालन तथा व्यवस्थापन र बजारीकरणमा, सहकारी क्षेत्र कृषक र उपभोक्ताहरूलाई तल्लो तहसम्म सेवा प्रदान गर्ने संस्थागत संरचनाको रूपमा र विकास साझेदारहरू क्षमता अभिवृद्धि र सामाजिक विकासमा लाग्नुपर्नेमा जोड दिएका थिए।

यसैगरी, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनले निजी क्षेत्रको लगानीलाई आकर्षण गर्न बलियो नियमनकारी निकाय आवश्यकताको विषय उचित रहेको बताउँदै यसलाई छलफलमा ल्याउनुपर्नेमा जोड दिए।

सुझावित समाचार