१६औँ संस्करणको ‘नाडा अटो सो’ सम्पन्न भएको छ । भृकुटीमण्डपमा ६ दिनसम्म चलेको अटो सो ८२ हजारभन्दा बढीले अवलोकन गरेको नाडा अटोमोबाइल एसोसिएसनले जनाएको छ ।
मेलामा बेस्ट स्टलको अवार्ड चारपांग्रेतर्फ ‘रिडारा’, लाइट कमर्सियल भेहिकलतर्फ ‘सोकोन’ र दुईपांग्रेतर्फ ‘एथर’ ब्रान्डले जितेका छन् । नेपालमा रिडारा सिजी अटोमोबाइल, सोकोन एमएडब्लू वृद्धि र एथर वैद्य इनर्जीले बिक्री गर्दै आएका छन् ।
मेलामा सहभागी चारपांग्रेमध्ये करिब ९० प्रतिशत विद्युतीय थिए । नाडाका अनुसार मेलामा २३ ब्रान्डका प्यासेन्जर कार, डेढ दर्जन ब्रान्डका दुईपांग्रे, १४ ब्रान्डका हलुका कमर्सियल गाडी, १६ वटा कम्पोनेन्ट ब्रान्ड र आधा दर्जन बैंक तथा इन्स्योरेन्सका स्टल थिए । मेलामा एकै दिन एक दर्जनभन्दा बढी नयाँ ब्रान्ड सार्वजनिक गरिएको बताइएको छ ।
मेलामा विद्युतीय सवारीसाधनको राम्रो बुकिङ
भएको विक्रेता कम्पनीले जनाएका छन् । अवलोकनकर्ताको भिड पनि विद्युतीय गाडीका स्टलमा लाग्यो । चारपांग्रेतर्फ नयाँ विद्युतीय ब्रान्डहरूको बहुलता रहे तापनि दुईपांग्रेतर्फ भने पुरानै ब्रान्डको दबदबा देखिन्थ्यो । मेलाको समापन कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष करण चौधरीले अटो मेला उल्लासमय रूपमा सम्पन्न भएको बताए । ‘अटो सो उल्लासमय रूपमा सम्पन्न भएको छ, अटो व्यवसायीहरूको अनुहारमा पनि खुसी देखेको छु,’ उनले भने, ‘तपाईंहरूको अनुहारमा देखिएको खुसीले मलाई पनि ऊर्जा थपिएको छ ।’