महिला लिग सुरु

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई वर्षपछि आयोजना गरेको महिला लिग फुटबल प्रतियोगिताको आइतबारको उद्घाटन खेलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकामाथि ४–० को सानदार जित निकालेको छ ।

कोशीलाई जित दिलाउन समीक्षा मगरले दुई गोल गरिन् । कोशीकी सञ्जुमाया तामाङले एक गोल थपिन् । कोशीले एक गोल आत्मघाती उपहार पाएको थियो । कोशीले पहिलो हाफमा एक गोलको अग्रता लिएको थियो । कोशीले दोस्रो हाफमा तीन गोल थप्यो ।

कोशीका प्रशिक्षक श्याम मानन्धरले टोलीले जित हात पारे पनि रणनीतिअनुसार खेल नभएको बताए । प्रतियोगिताका लागि कोशीले तीन विदेशी खेलाडी ल्याए पनि कानुनी प्रक्रिया पूरा नहुँदा मैदानमा उतार्न पाएन । कोशीले विदेशी खेलाडीका रूपमा सुमिता सरकार, तमलिका सरकार र भुली सरकारलाई अनुबन्ध गरेको छ । कोशी सुर्खेतमा भएको राष्ट्रिय महिला लिगको विजेतासमेत हो । वालिङका प्रशिक्षक दिलीप थापाले खेलाडीले योजनाअनुसार प्रदर्शन गर्न नसकेको बताए । 

लिगमा १० टोली सहभागी छन् । नेपाल पुलिस, एपिएफ र आर्मीसँगै कोशी, बागमती नगरपालिका, चन्द्रपुर नगरपालिका, संकटा क्लब, वालिङ नगरपालिका, सुदूरपश्चिम र कर्णालीले प्रतिस्पर्धा गरिरहेका छन् । पहिलो चरणपछि शीर्ष पाँच स्थानमा रहने टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । ‘डबल राउन्ड रोबिन’ पद्धतिमा पाँच टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो राउन्डबाट शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछन् ।

सुझावित समाचार