वाणिज्य बैंकहरूमा निष्क्रिय कर्जा अनुपात कुलमा ३.७६ प्रतिशत भए तापनि खुदमा भने १.०६ प्रतिशत मात्रै देखिएको छ । गत आर्थिक वर्ष ०८०/८१ को अन्त्यसम्ममा वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात सोबराबर देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो । कुल निष्क्रिय कर्जाको एकतिहाइभन्दा कम खुद निष्क्रिय कर्जा अनुपात देखिएको छ ।
गत आवको दोस्रो त्रैमासदेखि वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात गणना गर्न लागिएको हो । त्यसक्रममा पुस मसान्तसम्ममा १.१३ र चैत मसान्तसम्ममा १.१४ प्रतिशत खुद निष्क्रिय कर्जा अनुपात देखिएको थियो । गत असार मसान्तसम्म आउँदा त्यो घटेर १.०६ प्रतिशतमा सीमित भएको हो । वाणिज्य बैंकहरूको पुस मसान्तसम्ममा ३.६३ प्रतिशत र चैत मसान्तसम्ममा ३.८९ प्रतिशत कुल निष्क्रिय कर्जा अनुपात देखिएको थियो । त्यसअनुसार असारसम्म आउँदा कुल र खुद निष्क्रिय कर्जा अनुपात घटेको देखिन्छ ।
आर्थिक वर्षको अन्त्यका कारण बैंकहरूले असारमा कर्जा असुली बढाएका थिए । त्यसले निष्क्रिय कर्जा अनुपात घटाउन सहयोग पुगेको थियो । साथै, असारको अन्तिममा बैंकहरूले कर्जा प्रवाह पनि बढाएका थिए । विशेष गरी नजिकका ऋणीलाई ऋण तिर्नकै लागि बैंकहरूले कर्जा प्रवाह गरेका थिए । त्यसले गर्दा पनि निष्क्रिय कर्जाको अनुपात घटेको बताइन्छ । सोही कारण खुद र कुल निष्क्रिय कर्जा अनुपात घटेको बैंकरहरू बताउँछन् ।
राष्ट्र बैंकका सहप्रवक्ता डा. डिल्लीराम पोखरेलले यो सूचकले बैंकहरूमा धेरै जोखिम नभएको देखाउने बताए । ‘समीक्षा अवधिमा वाणिज्य बैंकहरूमा भएको निष्क्रिय कर्जा अनुपात कुलमा ३.७६ प्रतिशत नै हो । तर, त्यसबापत बैंकहरूले प्रोभिजनिङ पनि राखेका हुन्छन् । त्यसरी राखिएको प्रोभिजनिङ रकम घटाएर खुद निष्क्रिय कर्जा अनुपात निकालिएको हो,’ उनले भने, ‘यसले बैंकहरूमा भएको वास्तविक जोखिम मूल्यांकन गर्न सहयोग पुग्छ । अन्तर्राष्ट्रिय बजारमा पनि खुद निष्क्रिय कर्जा अनुपातकै आधारमा जोखिम मूल्यांकन गरिन्छ । अहिले वाणिज्य बैंकहरूको खुद निष्क्रिय कर्जा अनुपात १.०६ प्रतिशत देखिएको छ । यसले बैंकहरूमा धेरै जोखिम छैन भन्ने देखाएको छ ।’
प्रोभिजनिङ राख्नुपर्ने व्यवस्था गरिदिएका कारण बैंकहरूलाई वित्तीय रूपमा सुरक्षित राख्न सकिएको उनले बताए । बैंकहरूले कर्जा असुली बढाउँदा गत चैतको तुलनामा कुल र खुद निष्क्रिय अनुपात घटेको पनि उनको भनाइ छ । कुल निष्क्रिय कर्जा अनुपातमा त्यसबापत राखिएको कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ)को रकम घटाएर खुद अनुपात निकालिएको हो । बैंकहरूले निष्क्रिय कर्जाबापत निश्चित रकम प्रोभिजनिङ गर्नुपर्छ । कुल निष्क्रिय कर्जाबाट प्रोभिजनिङ रकम घटाएर यो आँकडा निकालिएको हो । बैंकहरूले प्रोभिजनिङ गरे पनि सम्बन्धित कर्जालाई निष्क्रिय कर्जामा वर्गीकरण गर्छन् । त्यसअनुसार निकट भविष्यमा सम्बन्धित कर्जा असुल नभए पनि बैंकको वित्तीय अवस्था थप बिग्रिँदैन ।
किनकि, त्योबराबरको रकम पहिले नै प्रोभिजनिङ गरिएको हुन्छ । तसर्थ, कुल निष्क्रिय कर्जा डुब्दैमा बैंकको वित्तीय अवस्था थप बिग्रिँदैन । खुद निष्क्रिय कर्जा असुल नभए मात्रै बैंकको वित्तीय अवस्था थप प्रभावित हुन सक्छ । तसर्थ, बैंकहरूमा हुने जोखिम मूल्यांकन गर्न खुद निष्क्रिय कर्जा अनुपात बढी प्रभावकारी हुने राष्ट्र बैंकको दाबी छ ।
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका देशहरूले पहिलेदेखि नै खुद निष्क्रिय कर्जा गणना गर्दै आएका छन् । खुद निष्क्रिय कर्जा अनुपातको गणना गर्ने अन्तर्राष्ट्रिय अभ्यास नै छ । विश्वका अधिकांश देशहरूले खुद निष्क्रिय कर्जा गणना गर्दै आएका छन् । तर, नेपालमा यसअघि खुद निष्क्रिय कर्जा गणना गरिएको थिएन । यसै पनि नेपालमा निष्क्रिय कर्जा अनुपात कम थियो । त्यस कारण पनि खुद निष्क्रिय कर्जा अनुपात गणना गरिएको थिएन । अहिले निष्क्रिय कर्जा अनुपात बढ्दै गएपछि यसको गणना गरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन् ।
अहिले बैंकहरूको निष्क्रिय कर्जा अनुपात उच्च छ । पहिला औसत १–२ प्रतिशत मात्रै निष्क्रिय कर्जा अनुपात हुन्थ्यो । अहिले त्यो पौने ४ प्रतिशतनजिक पुगेको छ । त्यसलाई नै देखाएर बैंकहरू समस्याग्रस्त बन्दै गएको टिप्पणी पनि हुने गरेको छ । त्यो बहसलाई निरुत्साहित गर्ने योजनाअनुसार पनि राष्ट्र बैंकले यस्तो तथ्यांक निकालेको देखिन्छ । तर, यस्तो तथ्यांक निकाल्नुलाई सकारात्मक लिनुपर्ने पनि विज्ञहरू बताउँछन् ।
समीक्षा अवधिमा नेपाल एसबिआई र एभरेष्ट बैंकमा सबैभन्दा कम खुद निष्क्रिय कर्जा अनुपात देखिन्छ । एसबिआईमा २ प्रतिशत र एभरेस्टमा ०.७१ प्रतिशत कुल निष्क्रिय कर्जा अनुपात हुँदा खुद अनुपात भने ०.२६–०२६ प्रतिशत मात्रै छ । सबैभन्दा धेरै खुद निष्क्रिय कर्जा अनुपात भने लक्ष्मी सन्राइज बैंकमा छ । ४.७२ प्रतिशत कुल निष्क्रिय कर्जा अनुपात रहेको उक्त बैंकको खुद अनुपात भने १.८७ छ । निष्क्रिय कर्जा अनुपात जति कम हुन्छ, बैंकमा त्यति धेरै नै कर्जा डुब्ने जोखिम कम हुँदै जान्छ ।
दुई खर्ब एक अर्ब प्रोभिजनिङ
बैंकहरूले निष्क्रिय कर्जाबापत असार मसान्तसम्म दुई खर्ब एक अर्ब २६ करोड ७० लाख रुपैयाँ प्रोभिजनिङ गरेका छन् । ०८० असारसम्म वाणिज्य बैंकहरूले एक खर्ब ४७ अर्ब ६० करोड ३० लाख रुपैयाँ प्रोभिजनिङ गरेका थिए । बैंकहरूले कर्जालाई असल, सूक्ष्म निगरानी, कमसल, शंकास्पद र खराब गरेर पाँच वर्गमा वर्गीकरण गर्छन् ।
बैंकहरूले असलमा १.१० प्रतिशत, सूक्ष्म निगरानीमा ५ प्रतिशत, कमसलमा २५ प्रतिशत, शंकास्पदमा ५० प्रतिशत र खराबमा १०० प्रतिशतबराबरको रकम प्रोभिजनिङ गर्नुपर्छ । निष्क्रिय कर्जामा कमसल, शंकास्पद र खराब वर्गका कर्जा हुन्छन् । यदि निकट भविष्यमा कर्जा असुल नभएमा बैंकहरूले धितो लिलामी गरेर हिसाब मिलान गर्नुपर्छ । त्यसरी पनि पुगेन भने प्रोभिजनिङ रकमबाट हिसाब मिलान गर्नुपर्छ । सम्बन्धित कर्जा असुल भएमा प्रोभिजनिङको रकम नाफा–नोक्सान खातामा जानेछ ।