नर्वेका स्ट्राइकर इर्लिङ हल्यान्ड उत्कृष्ट फर्ममा छन् । यसको उदाहरण हल्यान्डले इंग्लिस प्रिमियर लिगमा दिएका छन् । आठ दिनको अन्तरमा उनले म्यानचेस्टर सिटीका लागि दोस्रो ह्याट्रिक गरेका छन् । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको प्रतिस्पर्धामा उनले वेस्टह्यामविरुद्ध ह्याट्रिक गरेका हुन् । खेलमा साबिक विजेता म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो । प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको सिटीले नयाँ सिजनमा शतप्रतिशत जित निकालेको छ ।
हल्यान्डले प्रिमियर लिगमा ६९ खेलमा ७० गोल संख्या पुर्याएका छन् । वेस्टह्यामसँगको प्रतिस्पर्धामा उनको क्षमता फरक देखियो । पोस्टभन्दा ७० यार्ड टाढादेखि काउन्टर एट्याक्टमा उनले सहजै गोल गरे । मिडफिल्डरको भूमिकामा समेत पोख्त देखिएका उनले वेस्टह्यामको डिफेन्सलाई पहिलो तथा दोस्रो हाफमा सहजै तोडे ।
हल्यान्डले पहिलो हाफमा दुई तथा दोस्रोमा एक गोल गरे । उनको ह्याट्रिकमा माइकल एन्टोनियो र फर्नान्डो सिल्भाको योगदान उत्तिकै देखिन्थ्यो । हल्यान्ड पहिलो दुई गोलमा निकै खुसी थिए । यसमा उनको फिनिसिङ उत्कृष्ट रहेको प्रशिक्षक पेप मान्छन् । ‘जब कुनै खेलाडी उत्कृष्ट लयमा हुन्छ, उसले कुनै पनि समयमा विपक्षी पोस्टमा गोल गर्न सक्छ । वेस्टह्यामविरुद्धको खेलमा हल्यान्ड यस्तै लयमा थिए,’ पेपले भने, ‘हरेक गोल प्रयासमा मिहिनेत गर्ने र गोलपछि अन्य साथीहरूको योगदान नबिर्सने उसको बानी छ ।’
ब्रेकका वेला तयारी
हल्यान्डले सिजन ब्रेक लामो भएको र त्यसमा तयारी गर्ने अवसर पाएको बताएका छन् । ‘यसपटक सिजन ब्रेक लामो भएजस्तो लाग्छ । यसै समयमा राम्रो तयारी गरेँ । लिगमा अहिले यसैको प्रतिफल हो,’ प्रिमियर लिगको तयारीबारे उनले भने, ‘आगामी दिनमा थप गोल गर्न चाहन्छु ।’ उनले प्रिमियर लिगको डेब्यु सिजनमै कीर्तिमानी रूमपा ३६ गोल गरेका थिए ।
हल्यान्डको पहिलो गोलमा बर्नान्डोले सटीक पास मिलाएका थिए । प्रिमियर लिगमा तीन खेलमा सात गोल गरेका हल्यान्ड यसपटक पनि शीर्ष गोलकर्ताको अगाडि छन् । प्रिमियर लिगको तेस्रो चरणका खेलसम्म उनले अन्य खेलाडीका तुलनामा तीन गोल बढी गरेका छन् । पछिल्लो दुई वर्षमा उनी फिल्डमा रहँदा विपक्षी डिफेन्डरले धेरै योजना बनाए, तर उनले सहजै तोडेको प्रशिक्षक पेपको भनाइ छ । ‘लगातार सिजनमा हल्यान्डले सिटीलाई जित दिलाएका छन् । आलोचना जस्तो आए पनि त्यसको राम्रो उत्तर दिने गरेका छन्,’ पेपले भने, ‘अघिल्लो साता इस्विच टाउनविरुद्धको ह्याट्रिक पनि त्यत्तिकै सुन्दर थियो ।’
३० वर्षपछि रेकर्ड बराबरी
लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हल्यान्डले प्रिमियर लिगमा एउटा रेकर्ड बराबरी गरेका छन् । उनी लिगको सुरुवाती तीन खेलमा दुई ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । सन् १९९४/९५ को सिजनमा सिटीकै पाउल जेवलले लगातार दुई खेलमा ह्याट्रिक गरेका थिए । ‘ह्याट्रिक गर्ने खेलाडीबारे प्रतिक्रिया दिने केही शब्द नै छैन,’ प्रशिक्षक पेपले भने, ‘हामीलाई थाहा छ । जब उनी फर्ममा हुन्छन्, त्यसवेला सिटी पराजित हुँदैन ।’