बाल मन्दिरको जग्गा पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले नेपाल बाल संगठन (बाल मन्दिर)को देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । बाल संगठनका पदाधिकारीसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे–जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम चाल्न निर्देशन दिए ।

‘बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनीपुर्जाविना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया–ममता दिन एवं गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितता गर्न पनि आग्रह गरे । छलफलमा नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणीन्द्र गौतमलगायत सहभागी थिए ।

संगठनकी अध्यक्ष विद्या न्यौपानेले विशिष्ट संगठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा–जमिनको संरक्षण गर्न, जन्मदर्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गरेकी थिइन् ।
 

सुझावित समाचार