सगरमाथा आरोहण गर्ने खिजिदेम्बाका ४६ आरोही सम्मानित

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाले ४६ जना सगरमाथा आरोहीलाई सम्मान गरेको छ। खिजिदेम्बाभित्रका सबै सफल सगरमाथा आरोहीलाई पालिकाले काठमाडौंमा भव्य कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो।

सन् २००१ मा खिजिदेम्बा– ९ का दोर्जी शेर्पाले ओखलढुंगा जिल्लाबाटै पहिलोपटक सगरमाथा आरोहण गरेका थिए। त्यसयता खिजिदेम्बाबाट हालसम्म ४६ आरोहीले सगरमाथा आरोहण गरेका छन्। खिजिदेम्बाकै जाङ्बु शेर्पाले २२औँपटक सगरमाथा चढिसकेका छन्।

सबै आरोहीलाई एउटै समारोहमार्फत पालिकाले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको हातबाट सम्मान गरेको हो। ‘स्वावलम्बी, कीर्तिमानी र कर्मशीलहरूलाई खिजिदेम्बाको साथः साहासिक पदयात्रामार्फत पर्यटन प्रवर्द्वनमा मिलाऔँ हातमा हात’ भन्ने उद्घोषसहित सोही कार्यक्रमकै अवसरमा आरोही कुंगा शेर्पालाई खिजिदेम्बाको पर्यटन सद्भावनादूत घोषणा गरिएको छ। ७ पटक सगरमाथा आरोहण गरेर पालिकाको लोगोसमेत सगरमाथामा फहराएका शेर्पालाई ३ वर्षका लागि सद्भावनादूत बनाइएको हो।

पालिकाको पर्यटन प्रवर्द्धन र आरोहीहरूको मनोबल उच्च बनाउन सम्मानसहित सद्भावनादूत घोषणा गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए। खिजिदेम्बा पर्यटनको प्रचुर सम्भावना भएको पालिका रहेको र यहाँका अधिकांश शेर्पा समुदायका नागरिक पर्यटन व्यवसायमा संलग्न रहेकाले स्थानीय सरकारले अभिभावकत्व प्रदान गरेको अध्यक्ष शेर्पाको भनाइ छ।

राज्यको तर्फबाट अपेक्षित सहयोग नपाएको अवस्थामा पहिलोपटक आफ्नो गाउँपालिकाले सम्मान गरेर हौसला दिएको आरोहीहरूले बताएका छन्। पालिकाको सम्मान ग्रहण गर्न पाउँदा पहिलोपटक सगरमाथा आरोहण गर्दाजत्तिकै खुसी मिलेको ओखलढुंगाकै पहिलो महिला सगरमाथा आरोही माया शेर्पाले बताइन्।

आरोही र पर्यटन व्यवसायीले पर्यटनका क्षेत्रमा सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्। कार्यक्रममा संसद्को राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, संविधानसभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सांसद प्रदीप सुनुवारलगायतले ओखलढुंगाको पर्यटन विकासका लागि पहल गरिरहेको बताएका थिए।

ओखलढुंगाको दुर्गम गाउँ खिजिदेम्बा पर्यटनको प्रचुर सम्भावना भएको पालिका हो। नेपालका घुम्नलायक सय गन्तव्य सूचीमा पर्ने थोलेदेम्बासहितका दर्जनौँ पर्यटकीय क्षेत्रको विकास र प्रवर्द्धनमा पालिका जुटेको छ।

सुझावित समाचार