चार दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। वर्षातसँगै आएको भीषण पहिरोले दहिखोलाको पक्की पुलसमेत बगाएको थियो। कालिकोट र दैलेख खण्डबाट दुईवटा टोलीले रातदिन काम गरेपछि सडक खुलाउन सफल भएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।
कालिकोट क्षेत्रमा भएको सडकको पहिरो हटाउँदै कालिकोटको टोली बिहानै दहिखोला पुगिसकेको थियो। दैलेख खण्डमा भएको समस्या समाधान गर्न भने धेरै समय लागेको दैलेख प्रहरी प्रमुख सुनील दाहालले बताए। दैलेख खण्डको मालाचौरदेखि पहिरो हटाउँदै दहिखोला पुग्न समय लागेको दैलेख प्रहरीको भनाइ छ ।
पहिरो खुलाउनका लागि डोजर, एक्स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत परिचालन गरिएको थियो। सडक विभागको टोली हेभी इक्युपमेन्टसहित परिचालन भएको थियो।
दैलेख खण्डको मालाचौरदेखि किट्टुको भिरसम्मको पहिरो पन्छाउने काम सकिएसँगै सडक सञ्चालन भएको छ। स्याउ बोकेका ट्रकहरूलाई पहिलो प्राथमिकतामा राखेर सवारी पास गराउन आग्रह गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए।
डिभिजन सडक सुर्खेतका उपकरण र प्राविधिक टोलीलाई केही दिन कर्णाली राजमार्गमै रहन कालिकोट र दैलेखले आग्रह गरेको छ। सबैभन्दा जोखिम मानिएको किट्टुको भिरमा समेत वैकल्पिक मार्ग तयार गरेपछि मात्र सडक सञ्चालन सम्भव भएको हो।