मेरै कार्यकालमा नारायणी रंगशाला बन्छ : मन्त्री चौधरी

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक दशकदेखि जीर्ण अवस्थामा रहेको वीरगन्जको नारायणी रंगशालाको अवलोकन तथा निरीक्षण गरेका छन्।

सोमबार बिहान मन्त्री चौधरीले केही दिनअघि समाचार पढेर रंगशालाबारे जानकारी पाएपछि स्थलगत अवलोकन तथा निरीक्षण गर्न आएको बताए। देशको पुरानो रंगशालाको रूपमा रहेको यो रंगशालालाई कुनै पनि हालतमा बनाउने उद्देश्यले जीर्ण रहेको रंगशाला निरीक्षण गरेको बताए।

०८२ सालमा मधेशमा ११औँ राष्ट्रिय खेलकुद गराउने योजना रहेकाले पनि नारायणी रंगशाला निर्माण गर्नु मुख्य उद्देश्य रहेको चौधरीले सुनाए।

‘जीर्ण रंगशालामा अहिलेदेखि लगानी गरे पो आगामी दिनमा राम्रो हुने हो। अर्को साल मधेशमा ११औँ राष्ट्रिय खेलकुद गराउने योजना रहेकाले लगानी गरेर जीर्ण रंगशाला समयमै बनाउने प्रमुख दायित्व हो,’ उनले भने।

रंगशाला बनाउन विदेशी दातासँग सम्झौता गर्ने तयारी अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले अर्को सालमा यो रंगशालामा भएको काम देखिने भएकाले दसैँअगावै पुन अनुगमन गर्न आउने सुनाए।

मन्त्री चौधरीले यही सरकार र आफ्नै कार्यकालमा नारायणी रंगशाला बनाउने दाबी गर्दै दसैँसम्म जसरी पनि काम थाल्ने बताए।

अनुगमनका क्रममा मधेश प्रदेश सरकारका युवा तथा समाज कल्याणमन्त्री प्रमोद जैसवालले नारायणी रंगशाला बनाउन संघ र प्रदेशका सम्बन्धित मन्त्रालयबिच दुईपटक छलफल भएको सुनाए। उनले यही सालमा विदेशी सरकारको सहयोगमा नारायणी रंगशाला निर्माणको काम थाल्ने गरी अगाडि बढ्ने, नभए संघ र प्रदेश सरकार मिलेर नारायणी रंगशाला बनाउने आश्वासन दिए।

सरकारले विदेशी दाताबाट निर्माण गर्ने उद्देश्य लिएकाले यसपटक नारायणी रंगशाला निर्माणमा बजेट हाल्न नसकिएको उनको स्पष्टीकरण थियो। 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराले पनि मधेशमा ११औँ राष्ट्रिय खेलकुद हुने भएकाले सोहीअनुसार कतार सरकारसँग नारायणी रंगशाला निर्माण गर्न सम्झौताको तयारी अघि बढेको बताए।

सुझावित समाचार