पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, सयभन्दा बढी स्याउका गाडी अलपत्र

१२ भदौदेखिको सडक अवरुद्धले स्याउ बोकेका ट्रकहरू बाटोमै अड्किए

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण

बाढीपहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीय उत्पादन बाहिरी जिल्ला पठाउन तथा आवश्यक सामग्री भित्र्याउन समस्या हुने गरेको छ । पछिल्लोपटक १२ भदौदेखिको सडक अवरुद्धले स्याउ बोकेका कन्टेनरहरू बाटोमै अड्किएका छन् । 

भदौ महिना जुम्ला, कालीकोट र मुगुमा उत्पादन भएका स्याउ निर्यात गर्ने सिजन हो । तर, चार दिनदेखिको सडक अवरुद्ध भएपछि स्याउ बोकेका सयभन्दा बढी गाडी कालीकोट सडकखण्डका विभिन्न ठाउँमा बाटोमै अलपत्र परेको हिमा गाउँपालिका– ३, मोफ्लाका स्थानीय बलबहादुर रोकायाले बताए । ‘चार–पाँच दिनदेखि स्याउका गाडी बाटोमै थन्किएका छन् । स्याउ कुहिएर खेर जाने चिन्ता बढेको छ,’ उनले भने, ‘समयमै सुर्खेत, नेपालगन्ज, दाङका बजारमा स्याउ बिक्री गर्ने अपेक्षा गरेर स्याउ ढुवानी गरियो । तर, करिब हप्ता दिनसम्मको सडक अवरुद्धले स्याउ कुहिएर खेर जाने भएपछि निकै घाटा व्यहोर्नुपर्ने स्थिति सिर्जना भएको छ ।’  

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डल भन्छन्– 
अझै सडक खुलाउन समय लाग्छ । भोलि नै सडक खुल्ने स्थिति छैन । विशेष गरी कर्णाली राजमार्गको गगनेखोला र दैखोलामा ठुलो क्षति भएको छ । पहिरो पन्छाउनेदेखि सडक निर्माण गर्ने काम तीन–चार दिनदेखि निरन्तर काम भइरहेको छ ।

यस वर्ष करिब ४० करोडबराबरको स्याउ जुम्लाबाट बहिरी जिल्ला पठाउने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘कर्णाली राजमार्ग पटक–पटकको अवरुद्धले स्याउ किसान र व्यापारी मर्कामा पर्ने स्थिति हुने देखिएको छ ।’

प्रतिनिधिसभा सांसद हृदयराम थानीले कर्णाली राजमार्ग लामो समयसम्म स्तरवृद्धि नभएको र दुई लेनको सडक निर्माण गर्न सदनमा सभामुखसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको बताए । यसपटक अवरुद्ध भएको सडक तीन–चार दिनसम्म नखुलेपछि हिमा गाउँपालिका– १ का वडाध्यक्ष रतनबहादुर शाहीले कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेललाई ध्यानाकर्षण गरेका छन् । उनले भने, ‘कर्णाली राजमार्गको गगनेखोला र दैखोलामा बाढीपहिरो गई सडक अवरुद्ध हुँदा स्याउ बोकेका सयौँ गाडी अलपत्र अवस्थामा छन् । स्याउ किसान र व्यापारी मारमा पर्ने अवस्था आएको छ । सडक नखुल्दा स्याउ कुहिएर खेर जाने अवस्था सिर्जना भएको छ ।’

अवरुद्ध सडक छिटो खुलाउन र कर्णाली राजमार्ग स्तरवृद्धि गर्न हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीको नेतृत्वमा गएको टोलीले शनिबार प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत नेपाल सरकार प्रधानमन्त्रीको ध्यानाकर्षण गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले अझै सडक खुलाउन समय लाग्ने बताए । 

पहिरो हटाउन दुईवटा टोली परिचालन
दैलेख/ कर्णाली राजमार्गमा आएको भीषण पहिरो हटाउन कालिकोट र दैलेखबाट दुईवटा टोली परिचालन गरिएको छ । कालिकोट क्षेत्रमा भएको पहिरो हटाउँदै टोली दहिखोला पुग्नेछ । दैलेखको टोली मालाचौरदेखि पहिरो हटाउँदै दहिखोला पुग्नेछ । पहिरो खुलाउन डोजर, एक्स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी लिएर दैलेखका प्रमुख जिल्ला अधिकारी दुई दिनदेखि राकम कर्णाली क्षेत्रमै छन् । स्थानीय सरकार प्रमुखलगायतको टोलीसहित डोजर र लोडरसमेत परिचालन गरेर धमाधम काम भइरहेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । 

दैलेख खण्डको मालाचौरदेखि किट्टुको भिरसम्म पहिरोले क्षति गरेको छ । पहिला यो बाटो नखुलाएसम्म दहिखोला पुग्न सकिँदैन । शनिबार मालाचौरको सबै खण्ड सफा भएको छ । किट्टुको भिरको तल र माथि दुवै स्थानबाट पहिरो आएको छ । माथि निकै ठूलो र कडा चट्टान भएकाले सडकको तलबाट वाल उठाएर सवारी पास गर्ने तयारी भएको छ । ‘किट्टुको भिरलाई व्यवस्थापन गरेपछि बल्ल दहिखोला पुग्न सकिन्छ । लगातार काम भइरहेकाले आइतबार साँझसम्म बाटो खुल्छ कि भन्ने आशा छ,’ भुसालले भने । 

सुझावित समाचार