पेट्रोलमा १०% इथानोल मिसाउने मापदण्डको मस्यौदा तयार

२० वर्षअघि नै उद्योग मन्त्रालयले दिएको थियो स्वीकृति

आइतबार, १६ भदौ, २०८१
डिजिटल संस्करण
  • चिनी उद्योगी र एनआरएन लगानी गर्न इच्छुक
  • दैनिक दुई लाख लिटर इथानोल चाहिने, तर सुरुवातमा ५० हजार लिटरसम्म उपलब्ध हुन सक्ने
  • इथानोलको मूल्य सस्तो रहेकाले मिश्रणपछि पेट्रोलको भाउ पनि कम हुने अपेक्षा
  • न्यापियर घाँस, सिमलतरुल, बाज्रा सञ्जीवन, उखु र चिनी कारखानाबाट निस्कने खुदो, सुइरो घाँस, मकैको ढोड, धानको पराल वा भुस, गहुँको छुवाली र कनिकाबाट उत्पादित ‘ई–९९’ गुणस्तरको इथानोल प्रयोगको प्रस्ताव

पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रण गरेर बिक्री गर्ने मापदण्डको मस्यौदा तयार गरिएको छ । आयल निगमले ‘पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी विनियमावली, ०८१’ को मस्यौदा तयार गरी स्वीकृतिका लागि सञ्चालक समितिसमक्ष पेस गरेको हो । सञ्चालक समिति बैठकमा अहिले यो विषयमा छलफलसमेत सुरु भइसकेको छ ।

पेट्रोलियम पदार्थको प्रयोगबाट वातावरणमा पर्न गएको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न पेट्रोलमा इथानोल मिसाउने प्रक्रिया अघि बढाइएको निगमको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २९ मंसिर ०६० मा पेट्रोलमा इथानोल मिश्रण गर्न सकिने व्यवस्था राजपत्रमा नै प्रकाशित गरेको थियो । २० वर्षयता पटक–पटक यस विषयमा छलफल भए पनि अहिले कार्यविधि बनाएर लागू गर्न लागिएको हो ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पेट्रोलियम पदार्थको खपत न्यूनीकरणका लागि इथानोलको प्रयोग जरुरी भएको बताए । ‘वर्षौँदेखि इथानोल प्रयोग गर्ने विषय छलफलमै सीमित भएको रहेछ, यसपटक भने कार्यविधि नै बनाएर अघि बढेका छौँ,’ उनले भने, ‘सरकारले तोकेको मूल्य र गुणस्तरको हुनुपर्ने मापदण्डअनुसारको इथानोल पेट्रोलमा मिश्रण गर्ने गरी कार्यविधिको मस्यौदा प्रस्ताव गरिएको छ ।’

हाल मुलुकभर दैनिक औसत २० लाख लिटर पेट्रोल खपत भइरहेको छ । जसकारण दैनिक दुई लाख लिटर इथानोल मिश्रणको आवश्यकता पर्छ । तर, सुरुवातमा यति ठुलो मात्रामा इथानोल पाउने सम्भावना न्यून रहेको कार्यकारी निर्देशक भट्टले बताए । ‘चिनी उद्योगहरूले इथानोल खरिदको सुनिश्चितता हुन्छ भने तोकिएको मापदण्डअनुसार उत्पादन गर्छौँ भनेका छन्, तर दैनिक ५० हजार लिटर मात्रै उपलब्ध हुने देखिन्छ,’ उनले भने ।

इथानोलको प्रयोगले पेट्रोलको गुणस्तरमा ह्रास नआउने र सवारीसाधनको इन्जिनमा पनि कुनै क्षति नपुग्ने अध्ययनबाट देखिएको उनको भनाइ छ । आयल निगमले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले भने लामो समयदेखि पेट्रोलमा इथानोल मिश्रण गर्दै आएको छ ।

इथानोलको प्रयोगले मूल्यसमेत कम गर्न मद्दत मिल्ने निगम अधिकारीहरूको भनाइ छ । हाल पेट्रोल एक सय ६५ रुपैयाँ प्रतिलिटर रहेको छ भने इथानोल प्रतिलिटर एक सय ३० रुपैयाँआसपासमा खरिद मूल्य हुने निगमका एक अधिकारीले बताए । ‘सस्ता वस्तु मिसाउँदा मूल्य घटाउन कहीँ न कहीँ दबाब हुन्छ,’ ती अधिकारीले भने ।

‘ई–९९’ इथानोल प्रयोग गर्न खोजिँदै
आयल निगमले उच्च गुणस्तरको मानिने ‘ई–९९’ इथानोलको प्रयोगलाई प्राथमिकता दिएको छ । न्यापियर, घाँस, सिमलतरुल, बाज्रा सञ्जीवन, उखु र चिनी कारखानाबाट निस्कने खुदो, सुइरो घाँस, मकैको ढोड, धानको पराल वा भुस, गहुँको छुवाली र कनिकाबाट उत्पादित इथानोललाई प्रमुख प्राथमिकता दिइने कार्यविधिमा उल्लेख छ ।

चिनी उद्योगीहरूले यो गुणस्तरको इथानोल उत्पादनका लागि वर्षौँदेखि चासो दिइरहेका छन् । तर, उनीहरूले वार्षिक खपत परिमाण र खरिदको सुनिश्चितता खोजेका छन् । ‘चिनी उद्योगबाट निस्कने खुदोलाई प्रशोधन गरी इथानोलको प्लान्ट लगाउन तयार छन् । उनीहरूले खरिदको सुनिश्चितता खोजेका छन्,’ कार्यकारी निर्देशक भट्टले भने । चिनी उद्योगीले दुई वर्षमा उद्योग लगाउने र तेस्रो वर्षबाट उत्पादन दिन थाल्ने योजना निगमलाई सुनाएका छन् ।

त्यस्तै, गैरआवासीय नेपालीको एउटा समूहले पनि इथानोल प्लान्ट लगाउने विषयमा निगमसँग बैठक गरिसकेको छ । सो समूहले पहिले खरिद सम्झौता गर्नुपर्ने र त्यसपछि मात्रै उद्योग खोल्ने अव्यावहारिक प्रस्ताव गरेको छ । निगमले भने गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने कम्पनीसँग मात्रै खरिद सम्झौता गर्ने गरी कार्यविधिको मस्यौदा तयार गरेको छ ।

प्रथम गुणस्तरको इथानोलको अपर्याप्तता भएको खण्डमा ‘ई–९५’ गुणस्तरको प्रयोग गर्न सकिने पनि कार्यविधिमा उल्लेख छ । यस्तो इथानोलको स्रोत उखु, चुकन्दर, जौ, आलु, चामल र मकै हुन सक्ने निगमले जनाएको छ । निगम आफैँले सहायक कम्पनी खोलेर इथानोल उत्पादन गर्न सक्ने विकल्पसमेत राखिएको छ । ‘यस विनियमावलीको अधीनमा रही निगम आफैँले इथानोलको उत्पादन गरी इथानोलमिश्रित पेट्रोल बिक्री–वितरण गर्न सक्नेछ,’ मस्यौदामा उल्लेख छ । त्यस्तै, निजी क्षेत्रको साझेदारीमा समेत निगमले इथानोल उद्योग सञ्चालन गर्न  सकिने प्रस्ताव पनि छ ।

कार्यविधिमा भएका अन्य व्यवस्था
इनाथोल उत्पादकले अन्तर्राष्ट्रिय मापदण्डमा रही आफैँले गुणस्तर निर्धारण गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । त्यस्तै, सरकारले तोकेको इथानोलको गुणस्तरअनुसार उत्पादन हुनुपर्नेछ । आपूर्तिकर्ताले प्रत्येक ब्याजको उत्पादनको गुणस्तर प्रतिवेदन निगमलाई दिनुपर्ने, निगमले किन्ने इथानोलको अधिकतम खरिद मूल्य सञ्चालक समितिले समय–समयमा निर्धारण गरेअनुरूप हुनुपर्ने, ‘इन लाइन ब्लेडिङ’ विधि अपनाई पेट्रोलमा इथानोल मिश्रण गरिनेलगायत विषय कार्यविधिमा समेटिएका छन् ।

See More On

सुझावित समाचार