पुस्तकालय ऐन आवश्यक भइसक्योः शिक्षामन्त्री भट्टराई

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण
पुस्तकालय ऐन आवश्यक भइसक्योः शिक्षामन्त्री भट्टराई

फाइल तस्बिर ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पुस्तकालय ऐन आवश्यक भइसकेको बताएकी छिन्। काठमाडौंमा शनिबार सत्रौँ पुस्तकालय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। 

पुस्तकालयलाई व्यवस्थित गर्न, राज्य र पुस्तकालयबिचको सम्बन्ध स्थापित गर्न ऐन आवश्यक भएको उनको भनाइ छ। सरकारले अहिले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार पारिसकेको भन्दै मन्त्री भट्टराईले त्यसलाई व्यवस्थित बनाउन अझै केही छलफल आवश्यक रहेको बताइन्।

उनले पुस्तकालयसम्बन्धी नीति, केही ऐन कानुन र केही व्यावहारिक कुराहरू गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताइन्। उनले नयाँ किसिमको पुस्तकालयको अवधारणामा सरकारले काम गरिरहेको पनि बताइन्। उनले इ. लाइबेरीको विकास गर्नुपर्नेमा पनि जोड दिइन्।

उनले भनिन्, ‘हामीले पुस्तक नीति प्रारम्भिक मस्यौदा तयार गरेका छौँ। तर, अझै त्यसलाई व्यवस्थित गरेर कसरी अघि बढ्ने भन्ने सन्दर्भमा यहाँहरूसँग छलफल गरेर अघि बढ्नेछौँ। पुस्तकालय नीति मात्रै होइन, हामीसँग ०६४ सालमा बनेको पुस्तकालय नीति छ। त्यसलाई आजको सन्दर्भमा परिमार्जन गरी कसरी लागू गर्ने भन्ने सन्दर्भमा पनि हामीले छलफल गर्नुपर्नेछ।’ 

मन्त्री भट्टराईले पुस्तकालयमा लगाइएको लगानीको व्यवस्थित सदुपयोग गर्नका लागि पनि नीति नियमको आवश्यकता रहेको बताइन्।

सुझावित समाचार