कर्णाली राजमार्ग चार दिनदेखि अवरुद्ध, स्याउ बोकेका सयौँ गाडी बाटोमै थन्किए

जुम्ला, कालिकोट, मुगुका किसान र व्यापारीलाई मुख्य सिजनमै स्याउ बजार नपुग्ने चिन्ता

शनिबार, १५ भदौ, २०८१
डिजिटल संस्करण

माथिल्लो कर्णाली भनेर चिनिने जुम्ला, कालिकोट र मुगुको विकास मेरुदण्ड नै कर्णाली राजमार्ग हो। तर, यो राजमार्ग स्तरोन्नति नहुँदा यस भेगका बासिन्दाले बर्सेनि मार भोग्दै आएका छन्।

यसपटकको बर्खामा बाढीपहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध भएपछि पीडा थप बढेको छ। गत १२ भदौको रातिदेखि अवरुद्ध सडक खुलेको छैन। राजमार्ग अवरुद्ध हुँदा यसपटक त्यसको प्रत्यक्ष मार स्याउ व्यापारी र किसानलाई परेको छ।

जुम्ला, कालिकोट र मुगुमा उत्पादित स्याउ निर्यात गर्ने सिजन भदौ महिना हो। तर, चार दिनदेखिको सडक अवरुद्ध भएपछि स्याउ बोकेका एक सयभन्दा बढी गाडी कालिकोट सडकखण्डका विभिन्न ठाउँमा रोकिएका छन्। 

जुम्लाको हिमा गाउँपालिका– ३, मोफ्ला गाउँका बलबहादुर रोकायाले चार–पाँच दिनदेखि स्याउ बोकेका गाडी बाटोमै थन्किएकाले स्याउ कुहिने चिन्ता बढेको बताए।

‘समयमै सुर्खेत, नेपालगन्ज, दाङका बजारमा स्याउ पुर्याउने अपेक्षा गरेर स्याउ ढुवानी गरियो। तर, अब गाडीमै स्याउ कुहिने चिन्ता लाग्न थालेको छ,’ रोकायाले भने। 

कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले यस वर्ष करिब ४० करोड रुपैयाँबराबरको स्याउ जुम्लाबाट निर्यात हुने अनुमान गरिएको बताए। तर, कर्णाली राजमार्ग पटक-पटक अवरुद्ध हुँदा स्याउ किसान र व्यापारी मर्कामा पर्ने अवस्था आएको उनको भनाइ छ। 

कर्णाली राजमार्गको स्तरोन्नतिको माग
कर्णाली राजमार्ग स्तरवृद्धि नहुँदा सडकदेखि संघीय र प्रदेश सभाका सदनसम्म आवाज उठ्दै आएको छ। प्रतिनिधिसभा सदस्य हृदयराम थानीले कर्णाली राजमार्ग लामो समयसम्म स्तरवृद्धि नभएको भन्दै दुईलेनको सडक निर्माण गर्न केही दिनअघि सदनमा सभामुखसहित प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

यसपटक अवरुद्ध सडक चार दिनसम्म पनि नखुलेपछि हिमा गाउँपालिका– १ का वडाध्यक्ष रतनबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेललाई ध्यानाकर्णण गराएका छन्। वडाध्यक्ष शाहीले मुख्यमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएर सडक छिटो खुलाउन माग गरेका छन्। 

उनले कर्णाली राजमार्गको गगने खोला र दैखोलामा पहिरो गएर सडक अवरुद्ध हुँदा स्याउ बोकेका सयौँ गाडी अलपत्र अवस्थामा परेको भन्दै ध्यानाकर्षण गराएका छन्। 

अवरुद्ध सडक छिटो खुलाउन र कर्णाली राजमार्ग स्तरवृद्धि गर्न हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीको नेतृत्वमा गएको टोलीले शनिबार प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेमार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ। 

सडक खुल्न समय लाग्ने
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले अवरुद्ध सडक खुलाउन समय लाग्ने बताए। ‘भोलि नै सडक खुल्ने स्थिति छैन,’ उनले भने, ‘कर्णाली राजमार्गको गगने खोला र दैखोलामा ठूलो क्षति भएको छ। पहिरो पन्छाउनेदेखि सडक निर्माण गर्ने काम तीन–चार दिनदेखि भइरहेको छ।’

सुझावित समाचार