हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
हाल कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
आगामी २४ घण्टामा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन विभागले अनुरोध गरेको छ।