गएराति परेको चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ मा तीनजना गम्भीर घाइते भएका छन्। ऐँसेलुखर्कस्थित पातेलका मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा भुजेल तथा ओडारेका टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा दर्जी घाइते भएका हुन्।
डेनिस र अनिसा (काका-भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन्।
चट्याङले गम्भीर घाइते भई बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्क पुर्याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ। तीनैजनाको अहिले प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कका प्रमुख प्रहरी निरीक्षक हरि बरालले जानकारी दिए।
चट्याङले बेहोस बनेका तीनैजना अहिले उपचाररत छन्। उनीहरूको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको स्वास्थ्यकर्मीले बताएको बरालले बताए। उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार तीनैजनाको अवस्था खतरामुक्त छ। रातको समयमा परेको चट्याङको थप क्षतिको विवरण भने आउन बाँकी छ।