कार्यालय प्रमुख नहुँदा मालपोतको काम प्रभावित

शुक्रबार, १४ भदौ, २०८१
डिजिटल संस्करण

रामेछाप मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा दैनिक प्रवाह हुने काम प्रभावित बनेको छ । कार्यालय प्रमुख सरुवा भएर तीन हप्ताअघि जिल्ला छाडेपछि उक्त कार्यालय प्रमुखविहीन बनेसँगै सेवा प्रवाह प्रभावित बनेको हो । 

कार्यालय प्रमुुख सरुवा भएर हिँडेपछि तालुकदार कार्यालयले उनको स्थानमा अर्को व्यक्ति नखटाएपछि मालपोत कार्यालय निमित्तका भरमा सञ्चालन भइरहेको छ । निमित्तका भरमा आफ्ना सबै काम रोकिएको नागरिकको गुनासो छ । प्रमुख नहुँदा कार्यालयबाट निर्णय गर्नुपर्ने काम, नामसारी, घर कायम, संशोधनलगायतका काम रोकिएको मालपोत कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख दामोदर सुवेदीले जानकारी दिए । 

‘अहिले कार्यालय प्रमुख नहुँदा राजीनामा पास, दृष्टिबन्धक, बकसपत्रलगायतका सामान्य काम भएका छन्, त्यसबाहेकका काम भने हुन सकेका छैनन्,’ उनले भने, ‘कार्यालयमा काम लिएर टाढा–टाढावाट आएका सेवाग्राही प्रमुख नहुँदा त्यतिकै फर्कने गरेका छन् । हामीले तत्काल कार्यालय प्रमुख पठाइदिन वा यहीँ भएका ज्येष्ठ कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिने गरी परिपत्र गरेका छौँ ।’ मालपोत कार्यालय कमाइ हुने कार्यालयका रूपमा चिनिँदै आएको छ । तर, रामेछाप मालपोत कार्यालयमा भने तल्लो दर्जाका कर्मचारीकै हालीमुहाली भएका कारणले पनि प्रमुख बस्न नै नमान्ने गरेको एक कर्मचारीले जानकारी दिए । उनले भने, ‘हाकिम आए पनि यहाँका कर्मचारीले केही न केही बहाना बनाएर बस्नै दिँदैनन् । यहाँ हाजिर भएर जाने प्रमुखले अन्य कर्मचारीलाई रामेछाप मालपोत कार्यालयमा कार्यरत कर्मचारीको हर्कतको विषयमा जानकारी गराएपछि मन्त्रालयबाट अन्य प्रमुखहरू रामेछाप आउनै मान्दैनन् ।’ 

मन्त्रालयवाट रामेछाप सरुवा भएर आउने अधिकांश कार्यालय प्रमुख आफ्नो सरुवा हुने अवधि नपुुग्दै सरुवा मागेर हिँड्ने गरेका छन् । यहाँ आउने जोकोही प्रमुख पनि पूरै अवधिसम्म बसेका छैनन् । प्रमुख नबस्नुमा एकातिर स्थानीय पुराना कर्मचारीको हालीमुहाली र अर्कोतर्फ  दुुर्गम मानिएको जिल्लामा कमाइ पनि कमी हुने भएकाले हाकिम रामेछाप आउनै नमान्ने गरेको मालपोतकै एक कर्मचारीले बताए । 

See More On

सुझावित समाचार