महाधिवेशनको डेढ महिनापछि एकीकृत समाजवादीमा पदाधिकारी चयन गर्न भएको निर्वाचनमा आचारसंहिता उल्लंघनमाथि छानबिन गरिने भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा चुनावी नतिजा नै हेरफेर हुने गरी आचारसंहिता उल्लंघन गरिएको भन्दै विरोध गरेपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पदाधिकारी र पोलिटब्युरो निर्वाचनमा आचारसंहिताविपरीत काम भएको भन्दै छानबिन गरी कारबाही गर्न सदस्यहरूले माग गरेका थिए । अध्यक्ष नेपाललाई विवादमा ल्याउने र बदनाम गर्ने गरी मतदान प्रक्रिया प्रभावित गर्ने गरी गतिविधि भएकाले छानबिनको आवश्यकता परेको पोलिटब्युरो सदस्य उर्वादत्त पन्तले जानकारी दिए ।
‘पदाधिकारी र पोलिटब्युरो निर्वाचनमा निर्वाचित उपाध्यक्ष र उपमहासचिवसहित नौजनाको समूह बनाएर निर्वाचन आयोगले जारी गरेको र केन्द्रीय कमिटीले अनुमोदन गरेको आचारसंहिताविपरीत अध्यक्षलाई विवादमा ल्याउने र बदनाम गर्ने गरी मतदान प्रक्रिया प्रभावित गर्न गम्भीर अपराध गरेकाले छानबिनको माग गरिएको हो,’ उनले भने, ‘अध्यक्षले छानबिन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’
निर्वाचित उपाध्यक्ष गंगालाल तुलाधर, उपमहासचिव रामकुमार भट्टराईलगायत नौजनाले मतदान गर्नुपर्ने उम्मेदवारको लिस्ट बाँडेर निर्वाचनमा आचारसंहिताविपरीत गतिविधि भएको भन्दै केन्द्र्रीय सदस्यहरूले उजुरी गरेका छन् । निलम्बन गरेर छानबिन गर्नुपर्ने माग उनीहरूले गरेका छन् । छानबिन समितिमा महाधिवेशन हलबाट निर्वाचित अध्यक्ष, सम्मानित नेता र महासचिव तथा निर्विरोध निर्वाचित राजेन्द्र पाण्डे मात्र रहनुपर्ने माग उनीहरूको छ ।
बैठकमा उर्वादत्त पन्त, रामकुमारी झाँक्री, श्रीप्रसाद साह, देवसिंह मेहता, आलोक रायमाझी, भास्कर काफ्ले, शंकर भण्डारीलगायतले बोलेका थिए । निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलले पनि आचारसंहिता उल्लंघन भएको स्वीकार गरेका छन् । उनले व्यक्तिको नाम नबताए पनि आचारसंहिता उल्लंघनको घटनाबाट लज्जित भएको बताएका छन् । निर्वाचन आयोगले मतपरिणाम मात्र सुनाएको र समस्यासहित विस्तृत रिपोर्ट पछि पेस गर्ने पौडेलले बताए । ‘निर्वाचन आयोगका अध्यक्षले ‘लिस्ट हेरेर मतदान गर्दै गर्दा मैले आफैँ खोसेर ल्याएँ’ भन्नुभयो । एउटै व्यक्तिको सयौँ पोस्टर प्रचार गरेको पनि देखियो । त्यो पनि खोसेर ल्याएँ’ भन्नुभयो,’ एक केन्द्रीय सदस्यले भने, ‘आयोगले समस्याबारे विस्तृत रिपोर्ट पेस गर्ने बताउनुभएको छ ।’
निर्वाचनलाई मर्यादित र व्यवस्थित गर्न आचारसंहिता जारी गरिएको थियो । आचारसंहितामा व्यक्तिगत रूपमा भोट माग्न पाइने, तर अरूका लागि भोट नमाग्ने, प्रचारबाजी नगर्ने, समूह बनाए जान नहुने, प्रचार सामग्री प्रयोग गर्न नपाउने उल्लेख थियो । तर, उम्मेदवारी दर्तादेखि मतदानको वेलासम्म लिस्ट बाँड्ने काम भएको नेताहरूले दाबी गरेका छन् ।
एकीकृत समाजवादीले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकतामाथि हुन सक्ने षड्यन्त्र र प्रहारप्रति सचेत हुँदै लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन अपिल गरेको छ । बिहीबार बसेको महाधिवेशनपछिको पहिलो केन्द्रीय कमिटी बैठकले साना दलको अस्तित्वमाथि आघात पुर्याउने, संविधान प्रदत्त अधिकार कुण्ठित गर्ने तथा समावेशी लोकतन्त्रको मूल मर्ममाथि प्रहार गर्ने कुचेष्ठाले संविधान संशोधन गर्ने प्रतिगामी चिन्तनहरू प्रकट हुन थालेको जनाएको छ ।
बैठकले विचार, सिद्धान्त, राजनीति तथा संगठनका सबै विषयमा खुला छलफलबाट सहमति र सहकार्य गर्दै अगाडि बढेर मात्रै कम्युनिस्ट पार्टीबिच एकता हुने निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हाम्रो पार्टी वाम एकताको पक्षमा सधंँ दृढतापूर्वक रहँदै आएको छ । त्यसैले कतिपय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पार्टी एकताबारे चलेका हलुका प्रचारबाट प्रभावित नहुन सबैलाई आग्रह गर्दछौँ,’ पारित प्रस्तावमा भनिएको छ ।
एकीकृत समाजवादीले निवर्तमान उपाध्यक्षहरू घनेन्द्र बस्नेत, डा. बेदुराम भुसाल र प्रमेश हमाललाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । बिहीबार सम्पन्न केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले बस्नेत, भुसाल र हमाललाई वरिष्ठ नेतामा मनोनीत गरेको हो । तत्कालका लागि २४ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ । अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेतासहित पदाधिकारी रहेको स्थायी कमिटी गठन गरिएको हो । स्थायी कमिटीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको जिम्मेवारी दिइएको छ । पोलिटब्युरोका १०५ सदस्य पनि निर्वाचनबाट निर्वाचित भएका छन् । बैठकले उपनिर्वाचनको आवश्यक तयारी गर्न कार्यदल गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल गठन गरिएको उपमहासचिव गरिमा शाहले जानकारी दिइन । उनका अनुसार कार्यदलमा उपाध्यक्ष, उपमहासचिव र सचिव छन् ।