क्यानका डिजी जोगाउन भन्दै रास्वपाका सहमहामन्त्री भेट्न आए : कांग्रेस सांसद बजगाईं

बिहिबार, १३ भदौ, २०८१
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्रीले क्यानका महानिर्देशकलाई जोगाइदिन भन्दै आफूलाई भेटेको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद बजगाईंले जनताले आस गरेको भनिएको पार्टीले दोहोरो चरित्र देखाएको टिप्पणी गरे।

संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएकै पार्टीका एक सहमहामन्त्री नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)* का महानिर्देशकलाई जोगाउन लागिपरेको भन्दै उनले यस्तो द्वैध चरित्रले देश नबन्ने प्रस्ट्याए।

‘क्यानको विषयमा आज यहाँ छलफल हुँदै छ। करिब १३ जना प्रतिपक्ष दलका माननीयज्यूहरूले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराउनुभएको छ । यसै पार्टीका सहमहामन्त्री एकजना मित्र मकहाँ हतारिएर आउनुभयो । क्यानका  डिजीको बारेमा, उहाँ हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे । रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे । उहाँलाई जोगाउनुपर्याे भनेर अचानक मकहाँ आइपुग्नुभयो । त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो । म प्रश्न गर्न चाहन्छु– यो द्वैध चरित्रले यो देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग जनताको यत्रो आशा छ, भरोसा छ भनेर भनिएको छ । यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ,’ बजगाईंले भने।
 

*नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ ।

सुझावित समाचार