गुल्मीमा पाँचौँ पुल्चोक कप माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ।
पुल्चोक स्पोर्टस क्लब बर्सेनि छात्रा फुटबल आयोजना गर्दै आएको छ।
प्रतियोगितामा जिल्लाभरका १४ विद्यालयले प्रतिस्पर्धा गर्दै छन्। समूह चरणको पहिलो खेल लिटिल स्टार बोर्डिङ स्कुल र रेन्बो इंग्लिस बोर्डिङ स्कुलबिच प्रतिस्पर्धा भएको थियोे।
पेनाल्टी सुट आउटबाट लिटिल स्टार बोर्डिङ स्कुल विजयी भएको छ। जनसहयोग मावि र पालुखा माविबिचको दोस्रो खेलमा जनसहयोग माविले ४–० को गोलले जित प्राप्त गरेको क्लबको उपाध्यक्ष प्रकाश मरासिनीले जानकारी दिए।
आदर्श विद्या आश्रम र अर्जुन आवासीय माध्यमिक विद्यालयबिच भएको तेस्रो खेलमा अर्जुन बोर्डिङ १–० गोलले विजय भएको मरासिनीले बताए।
प्रतियोगिताको समूह चरणकै चौथो खेलमा उपल्लो तम्घास माविलाई रेसुंगा माविले ३–० गोलले पराजित गरेको छ । आजै सिद्धबाबा मावि र गण्डकी इंग्लिस बोर्डिङ स्कुल तथा भाडगाउँ मावि र ब्रिलियन्ट युनाइडेट एकेडमीबिच प्रतिस्पर्धा हुनेछ।
क्वार्टरफाइनलको चार खेलमध्ये जनसहयोग माविसँग रिडर्स पब्लिक हाईस्कुल तथा महेन्द्र माविसँग उपल्लो तम्घास मावि र रेसुंगा माविको विजेताले भिड्ने तालिका छ।
१५ भदौसम्म चल्ने प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई क्रमशः ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ का साथै सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए। उनले पहाडी जिल्लाहरूमा फुटबल कम खेलिने भएकाले छोरीहरूलाई खेलप्रति ऊर्जा भर्न लगातार प्रतियोगिता गर्दै आएको बताए।

