- आमाको उपचारका लागि ९ भदौमा पाटन अस्पताल पुगेकी काठमाडौंकी अञ्जली बिसुंखे डेढ घण्टादेखि लाइनमा थिइन् । आमा ज्येष्ठ नागरिक भएकाले टिकट लिन लामो लाइन बस्नु नपरे पनि चिकित्सकलाई भेट्ने लाइनमा उनले डेढ घण्टा बिताइसकेको बताइन् । थाइराइड र कोलेस्ट्रोल बढेर उपचारका लागि अस्पताल पुगेकी उनकी ६६ वर्षीया आमा बेन्चमै पल्टिरहेकी थिइन् । बिहान १० बजे आमासहित अस्पताल छिरेकी अञ्जलीलाई ओपिडीमा जाँचपछि बिलिङ र औषधि, रिपोर्टका लागि लाग्नुपर्ने लाइनको चिन्ता थियो । ओपिडीमा छिर्न पालो कुर्दाकुर्दै साढे ११ बजेको थियो । हजारौँको भिडमा बेन्चमा पल्टिरहेकी आमालाई हेर्दै अञ्जलीले भनिन्, ‘उहाँलाई हरेक तीन महिनामा जाँच गराइराख्नुपर्छ । जाँचका लागि बढीमा एक घण्टा लाग्छ, बाँकी लाइन लाग्दैमा दिन बित्छ । बिलिङ र टिकटका लागि मात्रै लाइन बस्नु नपरे सजिलै हुन्थ्यो ।’
- श्रीमतीको स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ललितपुर इमाडोलका वसन्त श्रेष्ठ पनि दुई घण्टादेखि लाइनमै थिए । मधुमेह, थाइराइडसँगै आँखामा पनि समस्या देखिइरहने भएकाले महिनामा कम्तीमा तीनपटकसम्म अस्पताल पुग्ने श्रेष्ठको गुनासो पनि अञ्जलीकै जस्तो थियो । ‘सबै सेवाका लागि एकैपटक मात्र लाइन बस्नुपरे हुन्थ्यो जस्तो लाग्छ । टिकट लिनेदेखि औषधि किन्दासम्म लाइनमै बस्नुपर्छ । पैसा तिर्न लामो लाइनमा राख्नुभन्दा मोबाइलबाट तिर्नुपर्ने व्यवस्था मात्रै भए पनि धेरै सजिलो हुन्थ्यो,’ उनले भने ।
- साढे नौ वर्षीय छोरालाई दमका कारण बोल्न नसक्ने र छाती दुख्ने समस्या देखिएपछि उपचारका लागि ९ भदौमा कान्ति बाल अस्पताल पुगेका रौतहटका धर्मेन्द्र जैसवाल लाइनमा भेटिए । बिहान ७ बजे अस्पताल पुगेका उनी दिउँसोको १ बजेतिर पैसा तिर्ने लाइनमा थिए । यसअघि टोकन, अल्ट्रासाउन्ड, ओपिडी र बिलिङ गरी उनी डेढ–दुई घण्टा लाइनमै बिताइसकेका थिए । ‘लाइन धेरै लामो भएकाले श्रीमती र म छुट्टाछुट्टै लाइनमा बसेका छौँ । लाइन बसेन भने अल्ट्रासाउन्डको रिपोर्ट आज आउँदैन । भोलि बिदा छ, पर्सिसम्म काठमाडौं बस्न खर्च लाग्ने भएकाले एउटा लाइनमा श्रीमती र एउटामा म बसेको हो,’ जैसवालले भने ।
भिड नियन्त्रण, सेवा–सुविधामा सुधारलगायत काम थालेको भन्दै गत २७ साउनमा पाटन र कान्ति अस्पतालसहित १७ वटा संघीय अस्पतालले स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट बुझाएका थिए । टिकट लिन, डाक्टरलाई जचाउन, बिमाबापतको सेवा लिन, औषधि खरिद गर्नलगायतमा लामो लाइन बस्नुपर्ने बाध्यता हटाउने गरी काम थालेको अस्पतालहरूले बताए पनि उपत्यकासशिच देशभरका अधिकांश संघीय अस्पतालको अवस्था भने उस्तै छ ।
ओपिडीका लागि मात्रै दैनिक १६ देखि १८ सय बिरामी र अन्य सेवाका लागि तीन हजारसम्मले सेवा लिँदै आएको पाटन अस्पतालमा भिडभाड मुख्य समस्या बनेको छ । अस्पतालले अनलाइन टिकट र डिजिटल पेइङ प्रणाली लागू गर्न नसक्दा दिनहुँ सेवाग्राहीले सास्ती भोग्दै आएका छन् । चिकित्सक राउन्ड, बिरामी भर्ना र बिरामी डिस्चार्जको व्यवस्था मिलाउने कार्यलाई डिजिटल बिलिङ र सोको सारभूत कार्यान्वयन अभ्यास थप व्यवस्थित गर्ने र व्यावहारिक रूपमा १ भदौदेखि पूर्ण रूपमा लागू हुने बताए पनि भिड नियन्त्रण हुन सकेको छैन ।
बिरामीलाई सहज सेवाका लागि सुधार थालिएको भन्दै पाटन अस्पतालले दुई साताअघि नै १० बुँदामा स्वास्थ्य मन्त्रालयलाई रिपोर्ट कार्ड पठाएको थियो । भिड व्यवस्थापन गर्न अस्पतालमा जनरल र पेइङको प्रणाली थप व्यवस्थित गरिएको, विस्तारित सेवा प्रवाहका लागि अस्पतालमै सञ्चालनमा रहेको पिपिपी सेवा थप व्यवस्थित गरिएको, ओपिडी एवं शल्यक्रियासम्बन्धी कार्यलाई द्रुत बनाउन बिदाको दिनमा समेत ओपिडी एवं शल्यक्रिया सञ्चालनमा ल्याइएको, बिमा व्यवस्थित गरिएको जस्ता सुधार थालिएको भन्दै मन्त्रालयलाई जानकारी गराएको छ । यस्तै, अनलाइन बुकिङ प्रणाली सुविधा अघि बढाइएको, सेवाबारे सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने, पिउने पानी तथा शौचालयलाई थप व्यवस्थित बनाइएको र सेवाग्राहीको सोधपुछ एवं जानकारीका लागि स्थानको किटानीमा नम्बरिङ गरी प्रत्येक तल्लामा सबै सेवाको जानकारी बोर्ड राखिएको, अस्पताल परिसरमा नागरिक डिजिटल बडापत्र राखिएको जस्ता सुधार गरिएको भनी मन्त्रालयलाई जानकारी दिइए पनि हालसम्म सेवाग्राहीले सेवामा सुधार भने पाएका छैनन् ।
अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरूप सेवामा सुधार ल्याइएको बताइए पनि स्रोत सुनिश्चित नहुँदासम्म भिडभाड नियन्त्रण गर्न नसकिएको अस्पतालले जनाएको छ । डिजिटल पेइङ प्रणाली अझैसम्म मूल्यांकनकै क्रममा रहेको, सेवा दिने जनशक्ति नबढाइएको, सेवा दिन आवश्यक ठाउँको सीमितता र सेवाग्राहीको चापसमेत उस्तै रहेको अवस्थामा एकैचोटि भिडभाड नियन्त्रण सम्भव नभएको अस्पतालका मेडिकल निर्देशक डा. युवराज शर्माले बताए ।
दैनिक ओपिडीका लागि मात्रै ६ सयभन्दा बढी बिरामी पुग्ने कान्ति बाल अस्पतालमा दिउँसोको समय अत्यधिक भिड रहन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन सुरु गरिएको, विस्तारित अस्पताल सेवा कार्यक्रम लागू गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइएको, अस्पतालमा चिकित्सकको राउन्ड, बिरामी भर्ना र बिरामीको डिस्चार्जबिचको समयको तादात्म्यता मिलाएर बेड अभावका कारण बिरामी भर्ना हुन नसकी उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले पिआइसियूमा तीनवटा बेड, एनआइसियूमा तीनवटा बेड र २० वटा अब्जर्भेसन बेड फेर्ने तयारी गरिए पनि सेवाग्राहीको सास्ती भने उस्तै छ ।
ओपिडीलगायत सेवा दिने र टिकटलगायत अन्य बिलिङ गर्ने ठाउँ एकदमै सानो भएकाले भिड व्यवस्थापन निकै मुस्किल भइरहेको अस्पताल प्रशासनले जनाउँदै आएको छ । ‘अस्पतालमा सधैँ भिडभाड देखिने ठाउँ ३१ वर्षअगाडि जापानिजले बनाइदिएको भवन हो । फार्मेसी, टिकट, टोकन, अन्य सबै बिलिङ, बच्चाको तौल लिने ठाउँ र ओपिडीसमेत त्यही ठाउँमा छ । जनशक्तिसमेत ३० वर्षअगाडिकै छ । मन्त्रालयले भिड घटाउनू भनेर निर्देशन मात्रै दिएर समस्या समाधान गर्न सकिएन,’ अस्पतालका सूचना अधिकारी रमेशनरसिंह केसीले भने ।
हैजा महामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण
हैजा महामारी नियन्त्रणका लागि संसद्ले सरकारको ध्यानाकर्षण गराएको छ । रास्वपा सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य संकटकालको पूर्वानुमान, नियन्त्रण र प्रतिकार्यलाई प्रभावकारी बनाउन’ दर्ता गरेको ध्यानाकर्षण प्रस्तावमा छलफल गर्दै प्रतिनिधिसभाले सरकारको ध्यानकर्षण गराएको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजा रोकथाम नियन्त्रणका लागि ध्यानाकर्षण प्रस्ताव सान्दर्भिक रहेको उल्लेख गर्दै नियन्त्रणका प्रयास भइरहेको जानकारी सदनलाई गराए । हैजासम्बन्धी परीक्षणका लागि आवश्यक किट सातै प्रदेशमा मौज्दात रहेको उल्लेख गर्दै उनले सन् २०३० सम्म हैजा निर्मूल पार्ने सरकारको लक्ष्य सुनाए । खानेपानी अशुद्धता र सरसफाइमा ध्यान नदिँदाका कारण हैजा फैलिने गरेको भन्दै उनले प्रमुख कारण नै खानेपानीमा शुद्धता नहुनु भएकाले खानेपानी मन्त्रालयसँग सम्न्वय गरेर व्यापक रूपमा सुधार गरिने प्रतिबद्धता जनाए ।
ऐनले व्यवस्था गरेबमोजिम तीनवटै तहका जनप्रतिनिधि रहने विषयगत समितिको बैठक बसेर हैजा र डेंगुलाई सामना गर्न सामूहिक र समन्वयात्मक प्रयास गर्ने गरी निर्णय गरेर अगाडि बढेको जानकारी पनि मन्त्री पौडेलले गराए । हैजा प्रभावित क्षेत्रको द्रुत सूचना, जनचेतना अभिवृद्धिलगायत क्रियाकलाप प्रभावकारी रूपमा तीनै तहका सरकारको समन्वयमा कार्य भइरहेको, काठमाडौं उपत्यकाका स्थानीय सरकार प्रमुखसँग हैजा, डेंगुलगायत महामारीजन्य अवस्थाको व्यवस्थापन कसरी प्रभावकारी बनाउने भनेर अन्तरक्रिया तथा ठोस कदम चाल्नका लागि सहकार्य गरिएको जानकारी दिए । वर्षायाममा देशभर हैजाको जोखिम रहे पनि नयाँ बिरामी नभएको, उपचाररत चारजना रहेको उल्लेख गर्दै मन्त्री पौडेलले हैजाकै कारण जनस्वास्थ्य संकटकाल लगाउनुपर्ने अवस्था नभएको बताए ।
रोल्पामा चारजनामा हैजा पुष्टि
रोल्पामा चारजनामा हैजा संक्रमण देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार रोल्पा नगरपालिकाको धवाङका चारजनामा हैजा पुष्टि भएको हो । संक्रमितको जिल्लामै उपचार भइरहेको जनाइएको छ । यस वर्ष देशभर हैजाबाट प्रभावितको संख्या ७१ पुगेको छ । यसअघि मकवानपुरमा एक, प्युठानमा दुई, ललितपुरमा ४७, काठमाडौंमा नौ र कैलालीमा आठ गरी ७१ जनामा संक्रमण देखिएको हो । तर, रोल्पामा देखिएका बिरामीबाहेक सबैजना निको भइसकेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।