मलेसियाको सवाह एएफसीसँग गोलरहित बराबरी नतिजा निकालेको एपिएफ एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट नेपालको एपिएफ क्लब बाहिरिएको छ । मलेसियाको सवाह एएफसीसँग बुधबार गोलरहित बराबरी नतिजा व्यहोरेको एपिएफ प्रारम्भिक चरणबाटै बाहिरिएको हो । प्रतियोगिताको समूह ‘सी’मा एपिएफले १ अंक मात्र जोड्यो । यसअघि पहिलो खेलमा उज्वेकिस्तानको नासाफ क्लबले एपिएफलाई १–० ले हराएको थियो ।
मलेसियाको लिक्सा रंगशालामा मलेसिया र नेपालका क्लबले नीरस प्रदर्शन गरेका थिए । दोस्रो चरणमा स्थान बनाउन एपिएफले सवाहमाथि फराकिलो जित निकाल्नुपर्ने समीकरण थियो । तर, राष्ट्रिय खेलाडीले भरिएको एपिएफले सोचेजस्तो प्रदर्शन गर्न सकेन । समूह ‘सी’मा नासाफले सर्वाधिक ३ अंक जोडेको छ । एपिएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले एसियामा महिला फुटबलको विकासका लागि पहिलोपटक महिला च्याम्पियन्स लिगको अवधारणा ल्याएको हो ।
एपिएफ नेपालको महिला लिग च्याम्पियनका रूपमा छनोट भएको हो । च्याम्पियन्स लिगमा एएफसीसँग आबद्ध २२ सदस्यराष्ट्रका क्लबहरूको सहभागिता रहनेछ । सन् २०२४ को फिफा वरीयताको शीर्ष आठमा रहेको राष्ट्रका लिग च्याम्पियन क्लबहरूले सीधै समूह चरणमा स्थान बनाएका छन् ।
लिगमा एसियामा फुटबलका शक्तिशाली मानिएका जापान, चीन, इन्डोनेसिया, फिलिपिन्स र अस्ट्रेलियाका क्लबहरूले समूह चरणमा खेल्नेछन् । एएफसीले प्रारम्भिक चरणमा रहेका १४ राष्ट्रका क्लबलाई चार समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।