शंखमूलस्थित स्नुकर हाउसमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका– ७ का २२ वर्षीय एमके कुमार छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार १० भदौमा शंखमूलस्थित स्नुकर हाउसमा कुटपिटबाट ४१ वर्षीय रूपक बान्तवा राई घाइते भएका थिए। उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो।
प्रहरीका अनुसार राईमाथि भएको कुटपिटमा संलग्न कुमार घटनापछि फरार भएका थिए। खोजी गर्ने क्रममा उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो।
उनी काठमाडौं महानगरपालिका– १०, बाबा पार्कस्थित टहरामा डेरा गरेर बस्दै आएका थिए। प्रहरीका अनुसार राई र कुमारबिच व्यक्तिगत रिसइबी थियो। सोही कारण १० भदौको अपराह्न दुईबिच विवाद भएको थियो। त्यस क्रममा कुमारले राईलाई कुटपिट गरेका थिए।