मकवानपुरको बकैयामा अविरल वर्षाका कारण खसेको पहिरोले विद्यालयमा क्षति पुर्याएको छ। मंगलबार दिउँसो परेको वर्षाका कारण बकैया गाउँपालिका– १२ कोलखोपमा रहेको विद्यालयमा क्षति पुगेको हो।
मकवानपुर प्रहरीका अनुसार कोलखोपमा रहेको श्री प्राथमिक विद्यालको इँटा, सिमेन्ट र जस्ताले बनेको भवनको दुईवटा कोठामा क्षति पुगेको छ। विद्यालयमाथिबाट आएको पहिरोले विद्यालयको भित्ता भत्किँदा कोठाभित्र रहेको फर्निचर र फाइलहरू पूर्ण रूपमा क्षति भएको मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
भवनसँगै जोडिएको शौचालयमा समेत क्षति पुगेको प्रवक्ता भण्डारीले बताए। विद्यालयको भवन मंगलबार दिउँसो भत्किएको भए पनि बिहीबार मात्रै खबर भएपछि इलाका प्रहरी कार्यलय ठिंगनबाट प्रहरी टोली खटिएको उनले बताए। विद्यालयको भित्ता भत्किँदा मानवीय क्षति भने नभएको उनले जानकारी दिए।