एनआइसी एसिया क्यापिटल लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार क्यापिटलको कार्यालय थापाथलीमा सम्पन्न सभाले आर्थिक वर्ष ०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै ०८१ असार मसान्तसम्मको वार्षिक वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ।
उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको ५२.५३ प्रतिशत (करसहित) को दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित भएको छ। सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार राठीले २० करोड चुक्ता पुँजी भएको क्यापिटलले समीक्षा अवधिमा रु. ३० करोडभन्दा बढी आम्दानी गरी रु. १२ करोड १६ लाखभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराए।
त्यसैगरी व्यवसायतर्फ असार मसान्त, ०८१ सम्म सात लाख ३९ हजार ८६८ डिम्याट खाता खोल्न सफल भएको, म्युचुअल फन्ड सेवाअन्तर्गत पाँचवटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ६ वटा योजनामार्फत पाँच अर्ब ५२ करोडभन्दा बढी रकम व्यवस्थापन गर्न सफल भएको जानकारी गराइयो।
लगानी व्यवस्थापन सेवाअन्तर्गत ७०४ ग्राहकबाट दुई अर्ब ११ करोडभन्दा बढीको रकम व्यवस्थापन गर्न सफल भएको, सेयर रजिस्ट्रार सेवाअन्तर्गत २४ वटा कम्पनीलाई सेवा उपलब्ध गराइरहेको तथा ‘आइडिया टु आइपिओ’ सेवाअन्तर्गत १७ वटा कम्पनीको निष्कासन कार्य सम्पन्न गरिसकेको व्यहोरासमेत सभालाई उनले जानकारी गराए।
क्यापिटलले आठौँ वार्षिक साधारणसभामा प्रस्ताव गरेको लाभांशसहित आफ्नो सेयरधनीलाई हालसम्म २४० प्रतिशत रिटर्न वितरण गर्न सफल भएको व्यहोरा राठीले अवगत गराए।