दुई स्वास्थ्य संस्थाको फोहोर उठाउन रोक

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एएसजी आई केयर र नेपाल स्किन हस्पिटलको फोहोर उठाउन रोक लगाएको छ । महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा ती स्वास्थ्य संस्थाले संक्रमित फोहोर स्रोतमा वर्गीकरण नगरेको, हानिकारक फोहोरलाई निर्मलीकरण गर्न अटोक्लेभजस्ता साधन तथा उपकरण प्रणाली जडान नगरेको तथा अन्तिम व्यवस्थापन गर्दा सामान्य फोहोरसँगै पठाउने गरेको पाइएपछि फोहोर उठाउन रोक लगाइएको हो ।

अनुगमनका क्रममा दुवै स्वास्थ्य संस्थामा रङ संकेतअनुसार जोखिमपूर्ण फोहोर राख्ने छुट्टै बिन राखिएको नभेटिएको महानगरले जनाएको छ । साथै, एउटै बकेटमा सबै फोहोर जम्मा गरेको, फोहोर पार्किङ गर्ने ठाउँमा र घरको छतमा राख्ने गरेको भेटिएको उल्लेख छ । स्किन अस्पतालका कर्मचारीले खाना पकाउने कोठाको ढोकामै कपडा धुने मेसिन राखिएको छ । अनुगमन टोली पुग्दा मेसिनको छेउमा राखिएको राइस कुकरमा खाना पाकिरहेको थियो । यसैसँग जोडिएको अर्को कोठा अप्रेसन थियटर हो । 

अनुगमनका क्रममा देखिएको अवस्थाबारे वातावरण व्यवस्थापन विभागको फोहोरमैला व्यवस्थापन महाशाखा प्रमुख कविता राई भन्छिन्, ‘मात्रा जति भए पनि संक्रमित फोहोर हानिकारक नै हुन्छ । स्वास्थ्य संस्थाले जोखिमयुक्त फोहोरलाई जोखिममुक्त बनाउने कुनै पनि उपाय अवलम्बन गरेको देखिएन । यसको सम्भावित जोखिम घटाउन यी स्वास्थ्य संस्थाबाट उत्पादित फोहोर उठाउन रोक लगाइएको छ ।’

See More On

सुझावित समाचार