धादिङ अस्पतालमा मेमोग्राम सेवा सुरु

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

धादिङ अस्पतालमा पहिलोपटक मेमोग्राम सेवा सुरु भएको छ । अस्पतालले स्तन क्यान्सर परीक्षण (स्क्रिनिङ) मेमोग्राम सेवा सुरु गरेको हो । स्तन क्यान्सरबाट महिलाको ज्यान जोगाउन मेमोग्राम सेवा सुरु गरिएको अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारीले बताए । ‘नेपालमा महिलाको पाठेघरको मुखमा हुने क्यान्सरपछि दोस्रोमा स्तन क्यान्सर छ । समयमै उपचार भयो भने निको हुन्छ । अकालमै ज्यान जानबाट जोगाउन यो सेवा सुरु गरिएको हो,’ उनले भने ।

स्तनको टिस्युजमा असामान्य वृद्धि अथवा परिवर्तनको पहिचान गर्न विशेष प्रकारको एक्स–रे मेमोग्राम सुरु गरिएको अस्पतालले जनाएको छ । ‘रेडियोग्राफर टेक्नोलोजिस्टले स्तनको चित्र र स्तनमा गाँठागुठी अथवा स्तन क्यान्सरको केही अन्य लक्षण छ भने डाक्टरले डाइग्नोस्टिक मेमोग्राम गर्न सुझाव दिन्छन्,’ अधिकारीले भने, ‘४० वर्ष कटेकाले समय–समयमा मेमोग्राम गराउँदा राम्रो हुन्छ । परिवारमा कसैलाई स्तन क्यान्सर थियो या छ भने परिवारका सदस्यले पनि मेमोग्राम गराउँदा उचित हुन्छ ।’ 

बढ्दै गएको स्तन क्यान्सर पहिचान र परीक्षणका लागि जिल्लाबाहिर धाउनुपर्ने बाध्यता हटेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उपलब्ध गराएको एक करोड नौ लाख ६१ हजार मूल्यबराबरको मेसिन मंगलबार नै अस्पताललाई हस्तान्तरण गरिएको हो । 

उपचारका लागि अस्पताल आएका सेवाग्राहीलाई मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले बताए । स्वास्थ्यकर्मीले हप्कीदप्की लगाउँदा बिरामीको मानसिकतामा नकारात्मक असर पर्ने हुँदा राम्रो व्यवहार र इमानदारिताका साथ काम गर्न प्रदेशभित्रका सबै स्वास्थ्य संस्थाका कर्मचारीलाई उनले आग्रह गरे ।

स्वास्थ्यकर्मीले राम्रो काम गर्दागर्दै पनि इमानदारितामाथि औँला उठाउँछ भने स्वास्थ्यकर्मीको पक्षमा आफू उभिने उनले बताए । 

सुझावित समाचार