टेलिग्रामका संस्थापक पक्राउको अर्थ

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

जब पावेल दुरोभ गत शनिबार आफ्नो निजी जेटमा फ्रान्स आइपुगे, तब उनलाई उनको सन्देश एप टेलिग्राममार्फत अपराधलाई सहजीकरण गरेको आरोपमा प्रहरीले पक्राउ गर्यो । लगत्तै, एक फ्रान्सेली न्यायाधीशले उनको हिरासत अवधि ९६ घण्टासम्म बढाइदिए । टेलिग्रामले दुरोभविरुद्धको आरोपलाई अस्वीकार गरेको छ । एक विज्ञप्तिमा कम्पनीले ‘त्यो मञ्चको दुरुपयोगका लागि मञ्च वा यसका मालिक जिम्मेवार छन् भनेर दाबी गर्नुको कुनै तुक छैन’ भनेको छ ।

यो मामिलाको दूरगामी अन्तर्राष्ट्रिय प्रभाव हुन सक्छ, टेलिग्रामका लागि मात्र नभई अन्य विश्वव्यापी ठुला प्रविधि कम्पनीका लागि पनि यो लागू हुनेछ ।

सन् १९८४ मा रुसमा जन्मेका पावेल दुरोभसँग फ्रान्सेली नागरिकता पनि छ । यसले रुस–युक्रेन युद्धमा आफ्नो एपको भूमिका र चरमपन्थी समूह एवं अपराधीले एपको व्यापक प्रयोगका बाबजुद पनि उनले किन स्वच्छन्द ढंगले यात्रा गरे भन्ने तथ्यको व्याख्या गर्न सक्छ । दुरोभले सन् २००६ मा सामाजिक सञ्जाल ‘भिकोन्ट्याक्टे’ सुरु गरेका थिए र यो रुसमा अहिले पनि लोकप्रिय छ । यद्यपि यो एपमा भएको सञ्चालन विवादका कारण उनले सन् २०१४ मा कम्पनी छाडेका थिए ।

दुरोभले भिकोन्ट्याक्टे छोड्नुअघि नै टेलिग्राम निर्माण गरेका थिए । टेलिग्रामले ‘एन्क्रिप्टेड’ सञ्चार प्रदान गर्छ, जसले अपराध अनुगमनलाई जटिल बनाउँछ, तर अधिनायकवादी सत्ताविरुद्ध प्रतिरोध गर्न भने मद्दत गर्छ । दुरोभ एलोन मस्क र मार्क जुकरबर्गजस्ता प्राविधिक व्यक्तित्वसँग जोडिएका छन् र उनलाई उदारवादी प्रविधि समुदायको समर्थन पनि छ । यद्यपि टेलिग्रामले दुरोभको जन्मभूमि रुसमै पनि कानुनी चुनौतीको सामना गरिरहेको छ ।

दुरोभ पक्राउ गर्न फ्रान्सेली अधिकारीका लागि एक अस्वाभाविक पात्र हुन् । मेटाको ह्वाट्सएप म्यासेन्जर एप पनि इन्क्रिप्टेड छ र यसले आफ्ना प्रयोगकर्ता अत्यधिक भएको दाबी गर्छ । त्यसैगरी सामाजिक सञ्जाल एक्स (यसअघि ट्विटर) मा द्वेषी अभिव्यक्ति र अन्य आपत्तिजनक सामग्रीलाई विनाकुनै हिच्किचाहट प्रसार गर्न दिइन्छ । र, अहिलेसम्म दुरोभ आफैँ अवैधानिक सामग्री निर्माणमा संलग्न भएको प्रमाण देखिँदैन । वास्तवमा उनलाई टेलिग्राम एप सञ्चालन गरेर अप्रत्यक्ष रूपमा गैरकानुनी सामग्री उत्पादन गर्न सहयोग गरेको आरोपमा पक्राउ पारिएको हो । दुरोभको विशिष्ट पृष्ठभूमिले उसलाई किन निसाना बनाइयो भनेर व्याख्या गर्न सकिन्छ ।

धेरै प्रमुख प्राविधिक व्यक्तित्वविपरीत उनी अमेरिकी नागरिकता धारण गर्दैनन् । उनी इन्टरनेट गतिविधिका सन्दर्भमा समस्याग्रस्त इतिहास र युक्रेनसँगको द्वन्द्वका कारण कमजोर अन्तर्राष्ट्रिय प्रतिष्ठा भएको रुसबाट आएका हुन् । यद्यपि उनको एप विश्वव्यापी रूपमा महŒवपूर्ण छ, तर उनको एपमा मेटाजस्ता प्रमुख कम्पनीमा झैँ व्यापक कानुनी स्रोतको अभाव छ । यी कारक मिलेर विकसित नियामक ढाँचाको कार्यान्वयन परीक्षणका लागि उनलाई पक्राउ गर्नुपर्ने सम्भाव्य व्यक्ति बनाउँछ ।

दुरोभको गिरफ्तारीले सामाजिक सञ्जाल एपमा आउने सामग्रीका लागि एपले कति जिम्मेवारी वहन गर्नुपर्छ भन्नेमा चलिरहेको बहसलाई जोड दिन्छ । टेलिग्राम, ह्वाट्सएप, मेटाको फेसबुक र मस्कको एक्सजस्ता एपले विश्वव्यापी रूपमा काम गर्छन् र यिनले विभिन्न कानुनी वातावरणको सामना गर्छन् । नतिजा यी एपमाथि लगाइएको जुनसुकै नियमनले एपको सेवालाई विश्वव्यापी रूपमा प्रभाव पार्छ, अर्थात् जटिल र प्रायः प्रभावकारी नियमनमा बाधा पुर्याउँछ ।

एकातर्फ गैरकानुनी सामग्रीका लागि एपलाई जवाफदेही बनाउन वा प्रयोगकर्ताको पहिचान विवरण खुलाउन दबाब छ । रुसमा, टेलिग्रामले युक्रेन युद्धविरुद्ध संगठित प्रदर्शनकारीको नाम खुलाउनुपर्ने मागको सामना गरेको थियो । अर्कातर्फ अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले प्रयोगकर्तालाई एपमा लगाइने प्रतिबन्धको विरोध गर्छन् र राजनीतिक टिप्पणीकारले प्रायः आफ्नो विचारमाथि ‘सेन्सरसिप’ (नियमन) भएको दाबी गर्छन् ।

यी विरोधाभासले नियमन र प्रवर्तनलाई जटिल बनाउँछ । यसले प्रायः एपलाई फाइदा पुर्याउँछ किनभने एपले आफ्नो सञ्चालनमा पर्याप्त नियन्त्रणको प्रयोग गर्छन् । यो जटिलताले कसरी एपले जनमतलाई प्रभाव पार्छ र सामग्री प्रकाशकका रूपमा कार्य गर्छ भनेर अस्पष्ट पार्न सक्छ । उदाहरणका लागि गुगल र फेसबुकले अस्ट्रेलियाको समाचार मिडिया बार्गेनिङ कोडको विरोध गर्न राजनीतिक रूपमा उन्मुख सामग्री प्रचार गरेर आफ्नो सान्दर्भिकताको प्रयोग गरेका थिए । यसबाहेक एपको डिजाइनले सामग्रीको दृश्य र सिफारिसलाई असर गर्छ र घृणायुक्त अभिव्यक्तिले कहिलेकाहीँ संलग्नता बढाउँछ ।

एपलाई तिनको सामग्री मध्यस्थता अभ्यासका लागि जवाफदेही हुन दबाब बढ्दो छ । युरोपमा मिडिया स्वतन्त्रता ऐनले समाचार निर्माता र तिनको सामग्रीलाई स्वेच्छाचारी रूपमा हटाउन वा प्रतिबन्ध लगाउने प्रयासमा रोक लगाउँछ, जब कि डिजिटल सेवा ऐनले अवैध सामग्री हटाउने संयन्त्र अनिवार्य गर्छ । अस्ट्रेलियाको अनलाइन सुरक्षा ऐनले एपमार्फत हुने क्षतिलाई रोक्ने लक्ष्य राखेको छ, तर हालैको एक एक्स समावेश भएको मुद्दाले यसको प्रभावकारिता सीमित हुन सक्ने सुझाव दिन्छ ।

दुरोभ हाल हिरासतमा छन् र आगामी दिनमा के नतिजा आउँछ भन्नेमा स्पष्टता छैन । यद्यपि उनले आरोपको सामना गरे र उनीमाथि सफलतापूर्वक अभियोग लगाइयो भने यसले फ्रान्सका लागि प्रविधि एप र तिनका मालिकविरुद्ध बृहत् रूपमा कारबाही गर्नका लागि नजिर निर्माण गर्न सक्छ । यसले विश्वव्यापी रूपमा पश्चिम र अन्य ठाउँमा रहेका देशलाई आफ्नै अनुसन्धान सञ्चालन गर्न प्रेरित गर्न सक्छ । नतिजा प्राविधिक एपले आफूले होस्ट गर्ने आपराधिक सामग्रीमा धेरै गम्भीर दृष्टिकोण अपनाउन सक्छन् ।

(कोस्की सिड्नी विश्वविद्यालयको स्कुल अफ मिडिया एन्ड कम्युनिकेसन्सका उत्तर–विद्यावारिधिका शोधकर्ता हुन्) 
द कन्भर्सेसनबाट

 

सुझावित समाचार