बागमतीमा उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक बस्दै

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सभाअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक आज दिउँसो बस्दै छ। प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ। विगत एक वर्षदेखि विचाराधीन विधेयकमाथि छलफल गर्न बैठक आह्वान गरिएको सचिव खड्काले बताए ।

प्रदेश सभाले ०८० असोजमा दर्तापछि छलफलका लागि समितिमा पठाएको प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने भएको हो । सत्तासमीकरण, सरकार परिवर्तन र बजेटका कारण सो समितिको बैठक सञ्चालन तथा विधेयकमाथिको छलफल अघि बढ्न सकेको थिएन । 

प्रदेश सभा सञ्चालनको बखतमा बसेको सो समितिको बैठकले ३० दफा रहेको हस्तकला ग्रामसम्बन्धी विधेयकको नाैवटा दफाको दफावार छलफल गरेको छ । सो विधेयकका विभिन्न दफाउपर पाँच सांसदले २० वटा संशोधन दर्ता गरेका छन् ।

बैठक आह्वान नहुँदा विधेयकको अन्य दफावार छलफल र संशोधन प्रस्तावले गति लिन सकेको थिएन । समितिको आजको बैठकले सो विधेयकको दफामाथिको छलफल र संशोधन प्रस्ताव टुंग्याउने तयारी गरेको सचिव खड्काले बताए  ।

सुझावित समाचार