धितोपत्र ऐन संशोधनमा सांसदको सुझाव- ‘फर्जी विवरणलाई निरुत्साहित गर्नुपर्छ’

अर्थतन्त्रको ऐना मानिने पुँजी बजारलाई नियमन गर्ने ऐन बलियो बनाउनुपर्ने अधिकांश सांसदको भनाइ

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

मंगलबारको संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेपछि छलफल सुरु भएको छ । छलफलमा सहभागी अधिकांश सांसदले धितोपत्र खरिद–बिक्री गर्न उक्साउने उद्देश्यले झुटो वित्तीय विवरण प्रकाशन गरेर नाफा देखाउने प्रवृत्ति हटाउने गरी प्रावधान बनाउनुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले धितोपत्र ऐन संशोधन गर्दा नियामकीय निकायहरूलाई नीतिगत भ्रष्टाचारको अखडा नबनाउन के–कस्ता उपायहरू अवलम्बन गर्ने भन्नेबारे छलफल हुनुपर्ने बताए । बोर्डको अध्यक्ष र सदस्यलाई राजनीतिक पहुँचका आधारमा नियुक्त गर्ने विषयमा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ । ‘सार्वजनिक संस्थानको महाप्रबन्धकलाई राजनीतिक नियुक्तिबाट गरिनुहुन्न । महँगो राजनीतिक नियुक्तिको क्रमभंगता धितोपत्र बोर्डबाट सुरु गर्नुपर्छ,’ उनले भने ।

रास्वपाका अर्का सांसद विराजभक्त श्रेष्ठले बजारमा सोझा लगानीकर्ता डुब्ने जोखिम बढी रहेकाले मिथ्या सूचनालाई नियन्त्रण गर्ने प्रावधान ल्याउनुपर्ने बताए । उनले केही कम्पनीहरूमा गलत विवरण देखाएर मिथ्या नाफा देखाउने प्रवृत्तिले गर्दा सर्वसाधारण लगानीकर्ता फस्ने जोखिम बढेको बताए । ‘सूचीकृत कम्पनीहरूले वित्तीय नियम पालना गरे–नगरेको अनुगमन गर्ने प्रणाली चाहिन्छ । कतिवटा कागजात जुटाएर मिथ्या नाफा देखाउने र लगानीकर्ता फसाउने प्रवृत्ति पनि छ,’ उनले भने । 

सत्तारुढ दल नेकपा एमालेका सांसद वासुदेव घिमिरेले पनि धितोपत्र खरिद–बिक्री गर्न उक्साउने उद्देश्यले गलत र झुटो विवरण बनाएर सामाजिक सञ्जालमा प्रचारबाजी हुने गरेको बताए । उनले भने, ‘माग र आपूर्तिका आधारमा बजार आफ्नै गतिमा चल्नुपर्छ । धितोपत्र खरिद–बिक्री गर्न उक्साउने उद्देश्यले गलत र झुटो विवरण बनाएर सामाजिक सञ्जालमा क्याम्पेनिङ गरिरहेका छन् । कम्पनी आफैँले पनि यथार्थभन्दा फरक विवरण प्रकाश गरिरहेको पाइन्छ । झुटा तथा भ्रामक विवरण र पूर्वानुमान गर्ने जोकोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ 

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले दैनिक २७–२८ अर्बको कारोबार भइरहेको सेयर बजारमा लगानीकर्ताले कम जोखिम महसुस हुने गरी ऐन संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘उद्योग व्यवसायको दायरा विस्तार गरेर आर्थिक वृद्धिको बाटो सुनिश्चित गर्नुपर्ने दायित्व सरकारको हो । बबलजस्तो नहोस् भन्नेमा सरकार गम्भीर हुनुपर्छ । सूचना प्रविधिको विकाससँगै सेयर बजारको स्वरूपमा परिवर्तन आएको छ । विधेयकमा सुधारको आवश्यकता भइसकेको छ । धितोपत्र बोर्ड सशक्त हुनु आवश्यक छ । आमलगानीकर्ताको लगानी सुनिश्चित हुनुपर्छ ।’

कुन सांसदले के भने ?

लगानीकर्ताले कम जोखिम महसुस हुने गरी ऐन संशोधन गर्नुपर्छ : डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्री
विधेयक स्वागतयोग्य छ । म नै अर्थमन्त्री हुँदा अघि बढाइएको थियो । सेयर मार्केटमा व्यापक आकर्षण नागरिकको छ । दैनिक २७–२८ अर्बको कारोबार सानो कुरा होइन । लगानीकर्ताले कम जोखिम महसुस गरेर उद्योग–व्यवसायको दायरा विस्तार गरेर आर्थिक वृद्धिको बाटो सुनिश्चित गर्नुपर्ने दायित्व सरकारको हो । बबलजस्तो नहोस् भन्नेमा सरकार गम्भीर हुनुपर्छ । सूचना प्रविधिको विकाससँगै सेयर बजारको स्वरूपमा परिवर्तन आएको छ । विधेयकमा सुधारको आवश्यकता भइसकेको छ । धितोपत्र बोर्ड सशक्त हुनु आवश्यक छ ।

नियामकभन्दा बजार बढी सक्रिय हुँदा वित्तीय संकट आउँछ : स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी सांसद
नियामकीय निकायहरूलाई नीतिगत भ्रष्टाचारको अखडा नबनाउन के–कस्ता गार्डरेलहरू राख्दै छौँ भन्ने महत्वपूर्ण छ । स्वार्थ नबाझिने गरी ल्याइएको व्यवस्था स्वागतयोग्य छ । अध्यक्ष र सदस्यलाई राजनीतिक पहुँचका आधारमा नियुक्त गर्ने विषयमा पुनरावलोकन गर्नुपर्छ । सार्वजनिक संस्थानको महाप्रबन्धकलाई राजनीतिक नियुक्तिबाट गरिनुहुन्न । महँगो राजनीतिक नियुक्तिको क्रमभंगता बोर्डबाट सुरु गर्नुपर्छ । नियामकीय निकायभन्दा बजार बढी चलायमान हुँदा वित्तीय संकट देखिन्छ । लगानीकर्ताको संरक्षण र वित्तीय नीतिलाई स्थायी बनाएर पुँजी निर्माण गर्ने हो ।

सेयर किनबेच गर्न उक्साउने प्रवृत्ति रोकिनुपर्छ : वासुदेव घिमिरे, नेकपा एमाले सांसद
यो विधेयकमाथिको सैद्धान्तिक छलफलमा धितोपत्र निष्कासन र कारोबारलाई नियमन गर्ने विषय समेटिएको छ । मन्त्रालयको कार्यभार सम्हालेलगत्तै सेयर बजारमा सुधार आइसकेको छ । विश्वव्यापी असल अभ्यासलाई समेट्न खोजिएको छ । माग र आपूर्तिका आधारमा बजार आफ्नै गतिमा चल्नुपर्छ । धितोपत्र खरिद–बिक्री गर्न उक्साउने उद्देश्यले गलत र झुटो विवरण बनाएर सामाजिक सञ्जालमा क्याम्पेनिङ गरिरहेका छन् । 

सुझावित समाचार