प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक

प्रकाशको नागरिकता छिटो बनाउने सम्बन्धमा प्रधानमन्त्री र गृह सचिवबीच छलफल

बुधबार, १२ भदौ, २०८१
डिजिटल संस्करण

युट्युब च्यानल ‘हेर्ने कथा’मार्फत सार्वजनिक भएका प्रकाश तामाङ (काले मोक्तान)लाई आवश्यक सहयोग गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक देखिएका छन् ।  प्रकाशलाई आवश्यक सहयोगका लागि तत्काल नेपाली नागरिकताकाे आवश्यक भएको प्रधानमन्त्रीकाे भनाइ छ । नागरिकता बनाउनेबारेमा गृहसचिव एकनारायण अर्यालसँग प्रधानमन्त्री ओलीले छलफल गरेका छन्।

नागरिकता बनेपछि मात्रै प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न सक्ने भएकाले प्रधानमन्त्रीको निर्देशनमा सचिवालयले विद्या चापागाईं  र प्रकाश तामाङसँग सम्पर्क गरेका छन् ।

प्रकाशकाे नागरिकता छिटो बनाउने विषयमा प्रधानमन्त्रीले गएराति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर आवश्यक निर्देशन दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसवेला कुरा हुन सकेन। पछि सचिवालयको विद्या चापागाईं  र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई–चार दिनभित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ। नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ।’

सुझावित समाचार