नाडा अटो सोको १६औँ संस्करण मंगलबारदेखि सुरु
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन् । मंगलबारदेखि भृकुटीमण्डपमा आयोजित ‘नाडा अटो सो’ उद्घाटन गर्दै उनले सरकारले निजी क्षेत्रलाई कुनै पनि दुःख नदिने बताए ।
अर्थमन्त्री पौडेलले राजस्व र रोजगारीमा ठूलो योगदान पुर्याउने अटोमोबाइल क्षेत्रलाई सरकारले संरक्षाण गर्ने प्रतिबद्धता जनाए । ‘सरकारले व्यवसायीलाई कुनै दुःख दिँदैन, बरु सहयोग गर्छ,’ उनले भने, ‘ऐन–कानुनमा टेकेर वैधानिक रूपमा निर्बाध व्यापार–व्यवसाय गर्नुहोस्, त्रसित र भयभीत हुनुपर्दैन, सरकार तपाईंहरूको साथमै छ ।’
यो सरकारले नीतिगत सुधार र स्थिरतामा जोड दिने अर्थमन्त्री पौडेलको आश्वासन थियो । नीतिगत सुधारको सुनिश्चितता र स्थिरता कायम गर्न सरकार दृढ रहेको उनको भनाइ थियो । ‘अटो व्यवसायीको ट्रेडिङबाट उद्योगमा सिफ्ट हुने सोच राम्रो हो, अटोमोबाइल क्षेत्रलाई उद्योगसँग जोड्न सरकारले नीतिगत सहयोग गर्नेछ,’ उनले भने, ‘तपाईंहरू सशक्त ढंगले अगाडि बढ्नुस्, सरकारले अनुकूल वातावरण बनाउनेछ ।’ पछिल्लो समय आधा दर्जनभन्दा बढी सवारीसाधनका एसेम्ब्ली प्लान्ट सञ्चालनमा आइसकेका छन् ।
अर्थमन्त्री पौडेलले इभी भेहिकलसहित समग्र अटोमोबाइल क्षेत्रमा नतिजामा आधारित नीति निर्माण गर्ने आश्वासन दिए । ‘इभीमा मात्र होइन, अटोमोबाइल क्षेत्रमा मात्र पनि होइन, समग्र अर्थतन्त्रको उत्थानमा रिसर्चमा आधारित भएर नतिजामा पुग्ने हो,’ उनले भने, ‘मौद्रिक नीतिले कतिपय क्षेत्रलाई प्रत्यक्ष सम्बोधन गर्न नसकेको हुन सक्छ, त्यसमा क्रमशः अझै सुधार गर्दै अगाडि बढ्ने हो, तर समग्रमा मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउन राम्रो भूमिका खेलेको छ ।’
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अटोमोबाइललाई विलासी वस्तुको परिभाषाभित्र नराख्न आग्रह गरे । आजको दुनियाँमा सवारीसाधन लक्जरी नभएर आधारभूत आवश्यकताको वस्तु भइसकेको बताउँदै उनले भने, ‘अटोमोबाइललाई नीतिगत रूपमै विलासिताको वस्तु भनेर परिभाषित गरेको छ, अटोमोबाइल विलासिताको वस्तु रहेन, परिभाषा बदल्नुपर्नेछ ।’ देशमा विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि सोहीअनुरूप पूर्वाधार विकासमा पनि जोड दिनुपर्ने उनको भनाइ थियो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्रमा देखिएको सुस्तताका कारण अटोमोबाइल व्यवसाय पनि शिथिल बनेको बताए । अटोमोबाइल बजार चलायमान बनाउन निर्माण क्षेत्रसहित समग्र अर्थतन्त्र चलायमान हुनुपर्ने उनको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अटोमोबाइल क्षेत्रमा थप नीतिगत सुधार आवश्यक रहेको औँल्याए । ‘नयाँ सरकार आएपछि सेयर बजार र अटोमोबाइल व्यवसाय चलायमान भएको छ,’ उनले भने, ‘यसलाई चलायमान बनाइराख्न थप नीतिगत सुधार आवश्यक छ ।’ ठूला दलहरूको दुईतिहाइ बहुमतको सरकारबाट थुप्रै सुधारका कामको अपेक्षा रहेको उनको भनाइ थियो ।
नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रमा नीतिगत सुधार र स्थिरता आवश्यक रहेको बताए । उनले अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने पनि माग गरे । ‘यो व्यवसाय धेरै पारदर्शी छ, यस क्षेत्रमा देखिएका समस्या र चुनौती सामना गर्न सरकारले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘हामीलाई नेपालमै बस्नु छ, यहीँ काम गर्नु छ, देशलाई राजस्व आर्जन गरिदिनु छ, सरकारले व्यवसायीलाई देशमै बसेर काम गर्ने वातावरण बनाइदियोस् ।’ अटोमोबाइल विलासी वस्तु नभएर राजस्वमा उल्लेखनीय योगदान पुर्याउने क्षेत्र रहेको बताउँदै उनले अटोमोबाइल व्यवसायीलाई सरकारको आड र भरोसा चाहिएको बताए ।
सो १६ भदौसम्म सञ्चालन हुने बताइएको छ । मेलामा २३ ब्रान्डका प्यासेन्जर कार, १९ ब्रान्डका मोटरसाइकल तथा स्कुटर, १४ ब्रान्डका हलुका कमर्सियल गाडी, १६ वटा कम्पोनेन्ट ब्रान्ड र सातवटा बैंक तथा इन्स्योरेन्स कम्पनीका स्टल रहेका छन् । मेलामा अधिकांश विद्युतीय ब्रान्डको सहभागिता देखिन्छ ।