माओवादी अध्यक्ष प्रचण्डले सरकार र प्रधानमन्त्रीमाथि उठाएका प्रश्नमा प्रमुख सत्तारूढ दलका नेताले प्रतिक्रिया जनाएका छन् । एमाले सांसद रघुजी पन्तले संसदीय व्यवस्थामा विपक्षी दलको नेताले सय दिनअगाडि सरकारको आलोचना गर्ने परिपाटी नभए पनि तोडिएको बताए ।
पन्तले सत्ता नै पाउन नसक्ने अवस्था आएपछि प्रचण्डले सत्ता चाहिँदैन भन्ने अभिव्यक्ति दिएको दाबी गरे । ‘जब ठुला दल मिले, मलाई सत्ता चाहिँदैन, मलाई फकाउन नआउनुहोला भन्नुको के अर्थ छ ? को आउँछ ? कोही आउँदै आउँदैन,’ पन्तले भने, ‘यस्तो अवस्थामा भन्नुहुन्छ सत्ता चाहिँदैन । यसरी अभिव्यक्ति दिने वेला होइन । अहिले नै मैदानमा उत्रेर सरकारको आलोचना गर्ने वेला भइसकेको छैन । प्रतिपक्षी नेताको गरिमा जोगाउनुस् ।’ पन्तले माओवादीसँग सत्ता माग्ने अधिकार नभएको बताए । ‘सत्ता चाहिँदैन भन्नुहुन्छ, तपाईंसँग सत्ता माग्ने नैतिक आधार पनि छैन, अधिकार पनि छैन र जनाधार पनि छैन । के मुखले माग्नुहुन्छ ? कहिले यता कहिले उता गरेर तीनपटक समीकरणमा खेल्नुभयो,’ उनले भने, ‘तपाईंलाई विश्वास गरेका ठुला दललाई धोका दिनुभयो । सुताउनुभयो । अब को सुत्न तयार छ ? को मान्छ त्यो कुरा ? प्रचण्ड के हो भन्ने सक्कली रूप देखिइसक्यो ।’
कांग्रेस सचेतक सुशीला थिङले पार्टीहरूका दोहोरो चरित्रमाथि कठोर टिप्पणी गरिन् । भुटानी शरणार्थी काण्डको कुरा गर्नेले सहकारी बिर्सिएकोमा असन्तुष्टि जनाउँदै यी दुवै विषयमा सदनमा बहसमा बन्देज लगाउनुपर्ने बताइन् । ‘हाम्रो समाजमा यस्तो भाष्य निर्माण भएको छ कि यस्तो भएन, त्यस्तो भएन, म भएको भए यस्तो गर्थेँ, उस्तो गर्थेँ । यस्तै–यस्तै भाष्य निर्माण गरेर कुनै–कुनै दलले त चुनावै जितेको छ । मन्त्री पनि भएको छ । मन्त्री मात्रै भएनन्, आफ्नो मन्त्री पद के–कति कारणले गुमेको हो, त्यो कुरा बिर्सेर भ्रष्टाचारको कुरा आएपछि तीन हात माथि उफ्रिहाल्ने अवस्था छ,’ उनले भनिन्, ‘सत्तामा नहुँदा भ्रष्टाचारको फाइल खोल, खोल भन्ने, सत्तामा पुगेपछि खोल्नै लागेको छु, खोल्नै लागेको छु भन्ने । सत्ताबाट हटेपछि खुल्नै लागेको थियो, मलाई हटाइहाल्यो भन्ने । यो के भएको हो मैले बुझ्न सकेको छैन ।’
अरूको काण्ड देख्नेले आफू मुछिएको काण्ड बिर्सिनु अनौठो भएको उनको भनाइ थियो । ‘४० वर्ष कटेर होला, हिजोआज नजिकको अक्षर देखिँदैन, टाढाको मात्रै देखिन्छ । ठिक त्यस्तै आज यो सदनमा पनि भुटानी शरणार्थी काण्ड देख्ने, अरू के–के काण्ड देख्ने, नागरिकता, पासपोर्ट, सहकारी थलै पर्न लागेको काण्ड देख्दै नदेख्ने, यो के भएको हो ? मैले बुझ्न नसकेको कुरा भयो,’ उनले भनिन् ।
अदालतमा विचाराधीन विषय सदनमा उठाउन नहुने र सदनमा बहसको विषय बनाउनुहुँदैन भनेर संविधानको धारा १०५ मा व्यवस्था रहेको उनले उल्लेख गरिन् । ‘अब सहकारीको विषय बोल्न चाहन्न, किनकि संसदीय विशेष समितिको विषय भएकाले प्रतिनिधिसभा नियमावलीको नियम ४८ (ज)मा उल्लेख भएकाले । यो दुईवटै (भुटानी र सहकारी) विषय सदनको विषय बनाउनुहुँदैन,’ उनको भनाइ थियो, ‘यदि यो विषयमा कसैले उठाउँछ भने सभामुखद्वारा रुलिङ होस् । यो विषयमा रुलिङ होस्, बोल्न पाइँदैन भनेर । यदि रुलिङ भएन भने म आफैँ नियमापत्ति गर्छु ।’
जनमोर्चाका चित्रबहादुर केसीले भ्रष्टाचारमा हदम्यादको विषयमा जनता आतंकित भएको भन्दै सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए । ‘वर्तमान प्रधानमन्त्रीविरुद्ध पूर्वप्रधानमन्त्री असाध्यै उफ्रिनुभयो । त्यस्तो मान्छे हो भन्ने जान्दाजान्दै आफ्नो दुनो सोझ्याउन दुईचोटि बालकोट किन पुग्नुभयो ? मलाई अचम्मै लाग्या छ,’ केसीले भने, ‘यो झगडाले ठुला पार्टीबाटै लोकतन्त्र र गणतन्त्रमाथि खतरा छ । यो दोहोरीबाट कतै बंगलादेशको गतिविधि यहाँ आउने हो कि भन्ने डर लागिरहेको छ । देशभर जनता सुशासन भएन भनेर आक्रोशित छन् । सत्ताबाहिर भएपछि भ्रष्टाचारीको कुरा गर्छन् र सत्तामा हुँदा भ्रष्टाचारी देख्दैनन् ।’
रास्वपाका मनीष झाले यो देशमा जे गर्न पनि जताततै घुस दिनुपर्ने अवस्था रहेको र नारामा विदेशबाट फर्किनुपर्ने भन्ने, तर फर्केका युवाहरू राजनीतिमा आउँदा खिसिट्युरी गर्ने प्रवृत्ति रहेको बताए । ‘३४ वर्षदेखि भ्रष्टाचारको आहालमा देश चलिरहेको छ । यसको विरुद्धमा बोल्दा युवा पुस्तालाई केही थाहा छैन भन्ने गरिएको छ । सहकारीबाट ऋण लिएको प्रमाण छ भनेर १०९ दिनअगाडि सत्तापक्षका नेताले बोलेको पर्खिरहेका छौँ,’ उनले भने ।