राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता १८ भदौदेखि

महिला तथा पुरुषमा समान पाँच-पाँच टोली भिड्ने

मंगलबार, ११ भदौ, २०८१
डिजिटल संस्करण

हरितालिका तिजको अवसर पारेर पोखरामा ‘लामाचौर कप’ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पोखरा महानगरपालिका– १६, लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा हुने ‘लामाचौर तीज महोत्सव–२०८१’ अन्तर्गत १८ देखि २१ भदौसम्म प्रतियोगिता हुन लागेको आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

महिलातर्फ ११औँ र पुरुषतर्फ तेस्रो संस्करणको प्रतियोगिता हुन लागेको आयोजक समाजका प्रथम उपाध्यक्ष तथा सूचना एवं सञ्चार उपसमिति संयोजक दिनेश भण्डारीले जानकारी दिए। महिला पुरुष दुवैतर्फ तीन विभागीयसँगै पाँच–पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

महिलातर्फ विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको नेपाल आर्मी क्लबसँगै न्यु डायमन्ड युथ स्पोर्टस् क्लब र न्यू एभरेस्ट भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्नेछन्।

यसैगरी, पुरुषतर्फ विभागीय एपिएफ क्लब, नेपाल पुलिस क्लब, आर्मी क्लबसँगै गण्डकी प्रदेश भलिबल टिम र मणिमुकुन्द भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्ने भण्डारीले जानकारी दिए।

महिला पुरुष दुवैतर्फका विजेताले एक लाख ५० हजार १११, उपविजेताले एक लाख १११, तेस्रोले ५० हजार १११ नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने प्रचारप्रसार उपसमितिका सहसंयोजक योगेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सर्वोत्कृष्ट खेलाडी एवं विधागत पुरस्कारको समेत व्यवस्था रहेको छ।

समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास गर्ने उद्देश्यसहित विगत २५ वर्षदेखि महोत्सवलाई निरन्तरता दिँदै आएको बताए। महोत्सवमा भलिबलका अलावा अन्तर विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, अन्तर महिला समूहगत खुला तिज गीत प्रतियोगितासँगै औद्योगिक तथा व्यापारिक स्टलहरूसमेत रहनेछन्।

महोत्सव सम्पन्न गर्न ५४ लाख ८८ हजार खर्च लाग्ने अनुमान आयोजकको रहेको अध्यक्ष भण्डारीले बताए। महोत्सवबाट बचत रकम आकस्मिक सेवा तथा तिज महोत्सव सञ्चालन कोष वृद्धिका लागि थप गर्नुका साथै समाजले सञ्चालन गर्दै आएको एम्बुलेन्स तथा शवबाहन सञ्चालनका लागि खर्च गर्ने अर्थ संकलन उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए।

सुझावित समाचार