सिएम पुरुषोत्तम चौलागाईंले सोमबार झापामा भएको छैटौँ राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । मेचीनगर नगरपालिकामा चार दिनसम्म चलेको प्रतियोगितामा चौलागाईंले उत्कृष्ट प्रदर्शन गरी सर्वाधिक ६ जोड्दै उपाधि हात पारेका हुन् । १९३७ रेटेड चौलागाईंले सात चरणको क्लासिकल खेलमध्ये पाँचमा जित र दुई खेल बराबरी खेलेका हुन् । उपाधिसँगै उनले ५० हजार रुपैयाँ जितेका छन् ।
५.५ अंकका साथ राजेन्द्र राईले उपविजेताका रूपमा २५ हजार प्राप्त हात पारेका छन् । समान ५.५ अंक जोडेका धीरेन राई डाइरेक्ट इन्काउन्टर, बुकोल्ज वान टु र मोस्ट विनअनुसार तेस्रो स्थानमा रहे । उनले १५ हजार रुपैयाँ पाए । प्रतियोगितामा युवा खेलाडी आशिष फुँयाल चौथो भए । पूर्वविजेता तथा सिएम कृष्ण थापा पाँचौँ स्थानमा रहे । छैटौँ राष्ट्रिय एमेच्योर प्रतियोगितामा विकास मैनाली सातौँ र प्रेम लिम्बू आठौँ स्थानमा रहेको नेपाल बुद्धिचाल संघका अध्यक्ष हेराकाजी महर्जनले बताए ।
यसैगरी, १७०० मुनिको विधामा २३६२ रेटिङमा रञ्जित राई पहिलो भएका छन् । व्यक्तिगत १६९९ रेटिङवाट खेल सुरु गरेका राईले ६५.२ रेटिङ बढाएका छन् । उनले उपाधिसँगै ५० हजार रुपैयाँ जिते । नौ चरणको प्रतिस्पर्धामा रामहरि कार्की दोस्रो भएका छन् । कपिल गुरुङ तेस्रो र महिला खेलाडी पूजा भण्डारी चौथो स्थानमा रहेका छन् । प्रतियोगितामा नगद पुरस्कार दुई लाख ८२ हजार राखिएको निर्देशक भरत गुरुङले जानकारी गराए ।