सेती–गण्डकी पुल निर्माणमा ढिलाइ, सातपटक म्याद थप

सोमबार, १० भदौ, २०८१
डिजिटल संस्करण

शुक्लागण्डकी नगरपालिका– ७ र भीमाद नगरपालिका– ८ जोड्ने सेती–गण्डकी पुल निर्माणमा ढिलाइ भएको छ । पुल निर्माणको काम थालिएको ६ वर्ष पुग्दासमेत निर्माण सम्पन्न भएको छैन । निर्माण कम्पनीले २९ असार ०७५ मा सक्ने गरी सम्झौता गरेको थियो । तर, सातपटक म्याद थप भइसक्दासमेत निर्माणको काम सकिएको छैन ।

एड्भेन्चर कन्स्ट्रक्सन भरतपुरले निर्माणको जिम्मा पाएको भए पनि कामले गति लिन नसक्दा समस्या भएको हो । अहिले ९५ प्रतिशत काम सम्पन्न भइसकेको र असोज मसान्तसम्म सक्ने लक्ष्यका साथ काम अघि बढेको सडक डिभिजन दमौलीका प्रमुख पशुपति ज्ञवालीले बताए । 

निर्माण कम्पनीले २९ असार ०७५ मा सक्ने गरी सम्झौता गरेको थियो । तर, त्यो समयमा सम्पन्न नभएपछि पहिलोपटक १५ चैत ०७६ मा सक्ने गरी म्याद थप भयो । त्यसपछि १४ फागुन ०७७ मा सक्ने गरी दोस्रोपटक म्याद थपियो । त्यो समयमा पनि काम नसकिएपछि तेस्रोपटक २९ भदौ ०७८ मा म्याद थपिएको थियो । 

काम नसकिएपछि फेरि चौथोपटक ३० चैत ०७८ मा सक्ने गरी म्याद थप गरियो । त्यो समयमा पनि निर्माण सम्पन्न भएन र पाँचौँपटक २३ असार ०८० मा सक्ने गरी म्याद थपियो । पटक–पटक म्याद थप मात्रै गरिए पनि पुलको भौतिक प्रगति देखिएन । त्यसपछि १० पुस ०८० मा सक्ने गरी छैटौँपटक थपियो, त्यसमा पनि पुल नबनेपछि सातौँपटक ३० असोज ०८१ मा सक्ने गरी म्याद थप गरिएको हो । 

सुझावित समाचार