नेसनल लाइफ इन्स्योरेन्सले १४ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको ३६औँ वार्षिक साधारणसभाले गत आवसम्म कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ५० करोड ११ लाख ६६ हजारबरारको नगद लाभांश र ४ प्रतिशतका दरले २० करोड चार लाख ६६ हजार रुपैयाँबराबरको बोनस सेयर (करबाहेक)को प्रस्ताव पारित गरेको हो । ४ प्रतिशत बोनस सेयर थपिएपछि कम्पनीको चुक्ता पँुजी पाँच अर्ब २१ करोड २१ लाख नाघ्ने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीकी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहले अघिल्लो आर्थिक वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यहरू धेरै उत्साहप्रद नरहेकाले बढ्दो ब्याजदर, लगानीमा प्रतिकूल प्रभाव र पुँजीगत खर्च एवं समग्र मागमा आएको कमीले अर्थतन्त्रमा प्रभाव पारेको बताइन् । आव ०७९/८० मा जीवन बिमा व्यवसाय आशातीत रूपमा विस्तार हुन नसके पनि आव ०८०/८१ मा जीवन बिमा व्यवसायले सुधारको बाटो तय गरेको उल्लेख गरिन् ।
साथै, कम्पनीले लगानी विविधीकरण गर्ने क्रममा आगामी दिनमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरूमा व्यापारिक भवन निर्माण गर्ने र स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको कम्पनीले जनाएको छ । साथै, कम्पनीले नेसनल क्यापिटल लिमिटेड नामक सहायक कम्पनीको स्थापना गरी सञ्चालनको प्रक्रिया अघि बढाएको पनि जनाएको छ ।