अमेरिकामा नेपाली नर्स बेपत्ता घटना : श्रीमानबाटै हत्याको आशंका, अदालतमा प्रमाण पेस

ममता बेपत्ता भएदेखि के–के भयो ?

आइतबार, ९ भदौ, २०८१
डिजिटल संस्करण
अमेरिकामा नेपाली नर्स बेपत्ता घटना : श्रीमानबाटै हत्याको आशंका, अदालतमा प्रमाण पेस

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट तीन सातादेखि (१६ साउन) बेपत्ता काभ्रे पनौतीकी ममता काफ्ले

१५ साउन ममतालाई उनका श्रीमान् नरेशले आफ्नै घरमा हत्या गरेको आशंका प्रहरीको छ । त्यही दिन नरेशले फरक–फरक वालमार्टबाट चक्कु र प्रमाण नष्ट गर्ने सफाइ सामान किनेका थिए । नरेशले ममतालाई १६ साउनमा अन्तिमपटक देखेको सञ्चारमाध्यमलाई बताए । 

अमेरिकाको भर्जिनियास्थित मनासस पार्कस्थित घरबाट तीन सातादेखि (१६ साउन) बेपत्ता काभ्रे पनौतीकी ममता काफ्लेको हत्या भएको आशंका गरिएको छ । अदालतमा प्रहरीले बुझाएको कागजपत्र र विवरणमा श्रीमान् नरेश भट्टले घरमै ममताको नृशंस हत्या गरेर शव बाहिर लगेको हुन सक्ने आशंका गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । नरेश कञ्चनपुरका हुन् ।

ममतालाई बेपत्ता बनाएको र अनुसन्धानमा सहयोग नगरेको अभियोगमा नरेशलाई मनासस प्रहरीले शुक्रबार पक्राउ गरी अनुसन्धान थालेको छ । उनले १५ साउनमै ममताको हत्या गरेको आशंकासहित घरमा संकलित प्रमाण प्रहरीले अदालतमा बुझाएको छ । २७ वर्षीया ममता नर्स हुन् । नरेशले श्रीमती हराएको विषयमा फरक–फरक र असंगत बयानबाजी दिएको, बजार (वालमार्ट)बाट शंकास्पद रूपमा चक्कु र सफाइ सामान खरिद गरेको तथा ममताको कोठामा रगतका टाटा देखिएको प्रहरी रिपोर्ट अदालतमा पेस भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उनले लाउडन काउन्टी वालमार्टमा लाइसोल र फेब्रेज किनेका थिए । अपराधीहरूले अपराध गरेपछि प्रमाण नष्ट गर्न यस्ता सामान किन्ने गरेको जानकारहरूको भनाइ छ । उनले फरक–फरक वालमार्टबाट चक्कु र प्रमाण नष्ट गर्ने सामान खरिद गरेको विवरण प्रहरीले संकलन गरेको छ । तर, प्रहरीले अदालतमा नरेशलाई हत्याको अभियुक्तका रूपमा प्रस्तुत गरेको छैन । शंकास्पद व्यक्तिका रूपमा पेस गरेको छ । 

३७ वर्षीय नरेशको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीका अभियोजक साराह सामीले घरमा रगतको थुप्रो फेला पारेको बताएकी छिन् । यद्यपि, अहिलेसम्म ममताको जीवित वा मृत अवस्था फेला परिसकेको छैन । नरेशले ४ साउनमै टेस्ला गाडी बेचेको र श्रीमती बेपत्ता भएयता घर बेचेर अमेरिकाबाट बाहिरिन लागेको त्यहाँस्थित नेपाली समुदायले आशंका गरेको छ । 

ममता भर्जिनियाको युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्स हुन् । आमा बेपत्ता भएपछि र बुबा नरेश पक्राउ परेपछि करिब एक वर्षीया छोरी निमालाई सरकारी संरक्षण केन्द्रमा लगिएको छ ।

शुक्रबारको सुनुवाइका क्रममा वकिलहरूले आशंका गरेको र सुनेभन्दा खराब अवस्था देखिएको बताएका छन् । भट्टले वकिलमार्फत बोल्ने, आफू अंग्रेजीमा कमजोर भएको बताएका थिए । मुद्दाका अभियोजक सामीले अदालतमा बहस गर्ने क्रममा नरेशविरुद्ध थप अभियोग लाग्ने बताएकी थिइन् । ममता घर नआएपछि नरेशले परिवारलाई सम्पर्क नगरेको बरु ममता कार्यरत मेडिकल सेन्टरका सहकर्मीले प्रहरीलाई खबर गरेको पत्ता लागेको छ । शुक्रबारै मेडिकल सेन्टरका प्रवक्ताले सिएनएनलाई ममताको मृत्यु भएको गम्भीर आशंका रहेको भन्दै दुःख व्यक्त गरेका थिए । 

मानसास पार्कका एक प्रहरी अधिकारी १७ साउनमा वेलफेयर चेक गर्न घरमा जाँदा नरेशले ममता हराएको रिपोर्ट गर्न अस्वीकार गरेका थिए । उनले २१ साउनमा मात्रै श्रीमती हराएको विषयमा प्रहरीलाई रिपोर्ट गरेका थिए । नरेशले सुरुमा ममता टेक्सास वा न्युयोर्कमा रहेका साथीहरूलाई भेट्न गएको भन्दै आएका थिए । मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले ममताका विषयमा १० टोली खटिएको र सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको जानकारी दिएका छन् । 

प्रहरीले घर खानतलासी गर्ने क्रममा घर अस्तव्यस्त अवस्थामा भेटेको थियो । सुटकेस प्याक गरिएको थियो, मास्टर बेडरुम र बाथरुममा रगतका टाटा देखिएका थिए । ओछ्यान पनि सारिएको अवस्थामा थियो भने बाथ ट्युबभित्र प्रहरीले रगत भेटेको थियो । प्रहरीले ब्लु स्टार टेक्नोलोजी प्रयोग गरेर रगत फेला पारेको अमेरिकास्थित नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल नेजाका अध्यक्ष गुणराज लुइँटेलले बताएका छन् । अदालतमा सुनुवाइमा रहेका व्यक्तिहरूले उनलाई दिएको सूचनाअनुसार ठाउँ–ठाउँमा रगत सफा गरेको, कार्पेट, बेडरुममा रगत भेटिएको छ । गलैँचामा अस्वाभाविक खालको गुलाबी रङ भेटिएको प्रहरीले जनाएको छ । 

ममताकी साथी सरिता न्यौपानेका अनुसार नरेशसँग उनको विवाह चार वर्षअघि भएको थियो । विवाह भएको एक वर्षपछि ममता अमेरिका गएकी थिइन् । नरेश फेयरफ्याक्स काउन्टीमा जुन २०२० मा भर्ती भएका थिए, तर २२ दिनमै उनलाई फेयरफ्याक्स काउन्टी क्रिमिनल जस्टिस एकेडेमीले बर्खास्त गरेको थियो । उनी त्यसअघि अमेरिकी सेनामा कार्यरत रहेको र अफगानिस्तान युद्धमा पनि सहभागी भएको अमेरिकी सञ्चारमाध्यमले लेखेका छन् । अमेरिकी सेनाका प्रवक्ता हेथर हागनलाई उद्धृत गर्दै सिएनएनमा प्रकाशित समाचारअनुसार नरेशले २०१७ देखि २०२४ फेबु्रअरीसम्म अमेरिकी सेनाको रेजर्भ अटोमेटेड लजिस्टिक स्पेसलिस्टका रूपमा काम गरेका थिए ।

ममताकी आमा र दाजुलाई अमेरिकी राजदूतावासले अमेरिका जान आपत्कालीन भिसा उपलब्ध गराएको छ । एक वर्षीया छोरीलाई प्रिन्स विलियम काउन्टीको सामाजिक सेवा विभागको हेरचाहमा राखिएको छ । 

ममता बेपत्ता भएदेखि के–के भयो ? 
- १२ साउनमा उनी युभिए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर मनाससमा पछिल्लोपटक देखिएकी थिइन् । उनी अमेरिकाको रजिस्टर्ड नर्स हुन् ।

- १३ साउनमा ममताले साथीसँग कुराकानी गरेको र त्यही दिन छोरीसँगको भिडियो टिकटकमा पोस्ट गरेकी थिइन् । कुनै वेला कोठामा साथमा बसेकी नादिया नाभारोलाई ममताले पटक–पटक फोन गरेकी थिइन्, तर सुतिसकेका कारण आफूले थाहा नपाएको नादियाले प्रहरीलाई भनेकी छिन् । ‘ममता जिम्मेवार र शान्त व्यक्ति हुन् । उनी भागेर गइन् भन्ने मलाई रत्तिभर पनि शंका छैन,’ नादियाले भनेकी छिन् । 

- १५ साउनमा ममतालाई उनका श्रीमान् नरेशले हत्या गरेको आशंका प्रहरीको छ । घरमै उनको हत्या भएको आशंका छ । त्यही दिन नरेशले फरक–फरक वालमार्टबाट चक्कु र प्रमाण नष्ट गर्ने सफाइ सामान किनेका थिए । नरेशले ममतालाई १६ साउनमा अन्तिमपटक देखेको सञ्चारमाध्यमलाई बताए । 

- १७ साउनमा प्रहरी नरेश र ममताको घरमा अनुसन्धानका लागि पुगे । अस्पतालमा सातामा दुई दिन काम गर्ने ममता १७ र १८ साउनमा मेलिकल सेन्टरमा ड्युटीका लागि जानुपथ्र्यो । उनी गइनन्, अस्पतालले खबर पनि पाएन । तर, नरेशले श्रीमतीको खोजीका लागि प्रहरीलाई रिपोर्ट गरेनन् ।

- २१ देखि २४ साउनसम्म प्रहरीले घर खानतलासीलगायत अनुसन्धान गर्‍यो । नरेशले १६ साउनमा उनले श्रीमतीलाई डिनर टेबुलमा अन्तिमपटक देखेको बयान प्रहरीलाई दिए । परिवारसँग पनि ममताको सम्पर्क नभएको, सामाजिक सञ्जालमा पनि नदेखिएको भन्दै बेपत्ता व्यक्ति घोषणा गर्दै प्रहरी ममताको खोजबिनमा लाग्यो । 

- भर्जिनियामा मात्र नभएर अमेरिकाभर रहेका नेपाली समुदायले उनको खोजीका लागि प्रहरी र सरकारलाई दबाब दिइरहे । नेपाली समुदायले स्वतस्फूर्त रूपमा ममतामाथि न्यायका लागि आवाज उठाएका थिए । ममताका हत्या भएको प्रहरी आशंका र त्यहीअनुसारको अदालतमा प्रमाण पेस भएपछि नेपाली समुदाय स्तब्ध छ । 

- ३० साउनमा नरेशले सञ्चारमाध्यमलाई भने, ‘१६ साउनमा ममताले खाना पकाएर खुवाइन् ।’ तर, उनीहरूबीच संवाद नभएको नरेशको भनाइ थियो । तीन वर्षअघि विवाह भएको, श्रीमती सहयोगी भएको, तर सम्बन्ध अलिक औपचारिक रहेको उनको भनाइ थियो । 

- ३१ साउन मनासस पार्क प्रहरी डिपार्टमेन्टले विज्ञप्ति जारी गरी ममताको खोजीका लागि सहयोग गर्न सबैलाई आह्वान गर्‍यो । साथसाथै, प्रहरीले अनुसन्धान पनि जारी राख्यो । उसले भर्जिनिया तथा अमेरिकी अन्य राज्यमा पनि ममताको खोजीका लागि आह्वान गर्‍यो ।

- प्रहरीले ५ भदौमा उनीहरूको घर खानतलासी गर्‍यो । तर, नरेशलाई पक्राउ गर्न पर्याप्त प्रमाण प्रहरीले भेटेन । प्रहरीले १० सर्च वारेन्टहरू जारी गर्‍यो तथा सयौँसँग सोधपुछ गर्‍यो । अन्तिममा प्रहरीले नरेशलाई शंकास्पद अभियुक्तका रूपमा लियो । र थप अनुसन्धान अघि बढायो ।

- प्रहरीले ६ भदौमा नरेशलाई घरभित्रबाटै हतकडी लगाएर गिरफ्तार गर्‍यो । त्यही दिन एक वर्षीया छोरीलाई पनि संरक्षण केन्द्रमा लिएर गयो । प्रहरीले पहेँलो ओढ्नेले छोपेर ममताकी छोरीलाई घरबाट बाहिर निकालेको थियो । 

- सिएनएन र उसको सहयोगी डब्लुजेएलएले ७ भदौमा प्राप्त गरेको प्रमाणअनुसार नरेशले श्रीमती ममताको हत्या गरेको आशंका छ । घरभित्रै हत्या गरेर शव बाहिर निकालेको आशंका छ । यसका लागि प्रहरीले डिजिटल र फरेन्सिक जाँच गरेको थियो । नरेशलाई अर्को साता अदालतमा पेस गरिँदै छ । 

काभ्रेबाट बुबाको गुहार–छोरीको सास चाहियो, कि लास 

ममताका बुबा कमल काफ्ले

काभ्रेको पनौती नगरपालिका– ६ नमोबुद्धस्थित सडकको छेवैमा कमल काफ्ले डेरी तथा चियापसल चलाउँछन् । उनी अमेरिकामा बेपत्ता ममता काफ्लेका बुबा हुन् । छोरी बेपत्ता भएको खबर सुनेपछि उनको होस अस्थिर छ, तर दैनिक गुजाराका लागि पसल खोलिरहेकै छन् । 

लामो प्रश्न गरेपछि मात्रै छोटो जवाफ दिने कमलको माग छ, ‘हामीलाई छोरीको सास चाहियो, कि लास चाहियो । हाम्री छोरी जीवित छिन् भने पनि चाहियो, छैनन् भने लास चाहियो । म सम्पूर्णमा यही अनुरोध गर्छु ।’ 

महाभारत गाउँपालिका– १ गोकुले स्थायी ठेगाना भएको काफ्ले परिवार पनौती आएको करिब ३० वर्ष भयो । दुई छोरा रहेका उनको छोरी ममता मात्रै हुन् । साइन्स विषयमा पनौतीबाटै ११ र १२ उत्तीर्ण ममताले भारतको बैंग्लोरबाट बिएस्सी नर्सिङ गरेकी हुन् । कमलका अनुसार भारतमा पढ्ने क्रममै कञ्चनपुरका नरेश भट्टसँग चिनजान भएको र पछि मागी विवाह भएको हो । ‘उनीहरूको चिनजान पहिला नै भएको रहेछ, पछि माग्न आएपछि ०७७ माघमा विवाह गरेर दियौँ,’ उनले भने । 

विवाहपछि करिब ६ महिना कञ्चनपुरकै घरमा बसेको र त्यसपछि चार वर्षअघि अमेरिका गएको कमलले बताए । उनका अनुसार ५ भदौ ०८० मा ममताले छोरी जन्माएकी थिइन् । ममता हराउनुभन्दा केही दिनअघिसम्म दिनमा एकपटक म्यासेन्जरमा कुराकानी हुने गरेको कमलले सुनाए । ‘सायद हामीलाई चिन्ता हुन्छ भनेर होला । जति नै यातना दिए पनि हामीबाट लुकाउँथिन्,’ कमलले भने, ‘अस्ति ३० तारिखका दिन भने अनुहार बेग्लै थियो । के भयो छोरी किन लुकाउँछौ भन्दा अलि हच्केकी थिइन् ।’

सुझावित समाचार