मर्स्याङ्दीमा हिजो भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एकजना केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से बिहान १० : ३० बजे काठमाडाैं आउने भएकी छिन्। उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने जानकारी गराइएको छ।
घाइते १६ भारतीय यात्रीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार हुँदै छ। दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार हुँदै छ। घाइते यात्रुको उपचारका लागि टिचिङ अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ। दुर्घटनामा परेर सामान्य घाइते भएका तीनजनालाई काठमाडाैंस्थित भारतीय दूतावासको समन्वयमा गोरखानिवास गेस्ट हाउसमा राखिएको छ।