मुस्ताङको बोक्सी खोलामा हिमपहिरो, सतर्क रहन प्रशासनको आग्रह

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

मुस्ताङको थासाङ गाउँपालिका– २ कोबाङको शिरमा पर्ने धौलागिरि र मानापाथी हिमशृंखलाको बिचबाट खसेको हिमपहिरोले खोला थुनेको छ। शुक्रबार दिउँसो करिब साढे १ बजे ठुलो आवाजसहित हिमपहिरो खसेपछि मुस्ताङको बोक्सी खोलाको सहायक खोला थुनिएको थियो।

हिमालबाट खसेको हिमपहिरो बुकीको चौर र हिमालको फेदीबाट बग्ने खोलामा थुप्रिएपछि खोलाको पानी बग्न रोकिएको थासाङ गाउँपालिका– २ का वडाध्यक्ष गौतम शेरचनले बताए। उनका अनुसार बोक्सी खोलामा धौलागिरि र मानापाथी हिमशृंखलाका विभिन्न तीन–चारवटा मुहानबाट आउने पानी मिसिने गरेको छ। त्यसमध्ये एउटा मुहानबाट बग्ने पानी हिमपहिरोले पुरिएर करिब तीन घण्टासम्म पूर्ण रूपमा थुनिएको थियो।

‘साँझदेखि पानीले हिउँका डल्लाहरू बगाएर ल्याएको छ, हिउँपहिरोबाट खसेको हिउँले पुरिएर थुनिएको पानी बिस्तारै हिउँलाई पगालेर बग्न थालेको छ, बोक्सी खोलामा पानीको सतह बढ्दै गएको छ,’ वडाध्यक्ष शेरचनले भने। बोक्सी खोला कालीगण्डकी नदीमा मिसिएको छ। हिमपहिरोले खोला थुनिएपछि खोलाआसपासका बस्तीमा सतर्कता अपनाइएको छ।

हिउँपहिरोले थुनिएको पानी एकैपटक बगेर आउँदा बाढी आउने जोखिम बढेपछि खोलाआसपासका एक दर्जन घरका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ। यसअघि ०७८ कात्तिक २८ गते मानापाथी हिमचुचुरोबाट खसेको हिउँपहिरोले कोबाङ क्षेत्रमा त्रास सिर्जना गरेको थियो।

सुझावित समाचार