चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। आज दिउँसो १ः५० बजेतिर भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग.२ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए।
‘अचानक बसमाथि ढुंगा खसेपछि चालक आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो,’ उनले भने, ‘बसमा सवार २५ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि भरतपुरका विभिन्न अस्पताल ल्याइएको छ।’
दुर्घटनामा परेको बसमा समेत क्षति पुगेको छ। बस दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारमा खटिएको छ।