कर्णालीमा भेटिएको शवको पहिचान खुल्यो

शुक्रबार, ७ भदौ, २०८१
डिजिटल संस्करण

अछामको तुर्माखाँद गाउँपालिका– ४ जंगलघाटस्थित कर्णाली नदीमा भेटिएको शवको पहिचान खुलेको छ। मृतक दैलेख जिल्ला डुंगेश्वर गाउँपालिका– २ लाँकुरीका बलबहादुर गाहामगर भएको पहिचान खुलेको हो। 

यही भदौ ५ गते साँझ करिब साढे ६ बजेतिर कर्णाली नदीस्थित अछाम र सुर्खेत जोड्ने जंगलघाट झोलुंगेपुलनजिक उनको शव भेटिएको थियो। स्थानीयको सहयोगमा अछाम प्रहरीले गाहामगरको शव नदी किनारबाट निकालेर जिल्ला अस्पताल मंगलसेनको शवगृहमा राखेर अनुसन्धान थालेको थियो। 

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार छिमेकी जिल्लाका प्रहरी युनिटहरूसँगको समन्वयका क्रममा मृतकका आफन्त सम्पर्क आएर शवको पहिचान गरेका हुन्। मृतक गाहामगर यही भदौ ३ गते माछा मार्ने क्रममा दैलेखको डुंगेश्वरस्थित लोहोरे खोलाले बगाएर बेपत्ता भएका थिए। 

कर्णाली नदीमा मिसिएको लोहोरे खोलामा बेपत्ता भएका उनको शव जंगलघाटस्थित कर्णाली नदी किनारमा तैरिएको अवस्थामा भेटिएको थियो। उनी बेपत्ता भएको पाँच दिनपछि मृतकका छोराहरूले अछाम पुगेर शवको पहिचान गरेपश्चात् पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।    
 

See More On

सुझावित समाचार