एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रूपमा घोषणा गरेको हो ।
यससँगै इडब्लुभिएलका लागि दुई विदेशी खेलाडी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ। मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा यभजेनियालाई अनुबन्ध गरिसकेको छ । ट्युनिसियाकी मिडल ब्लकर योस्राले पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिगमा अब मधेश युनाइटेडबाट खेल्नेछिन्।
ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिसियन सुपर कपसमेत खेलेकी छिन् । उनको उचाइ १८४ सेन्टिमिटर छ ।
योस्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छिन् । ‘पहिलो संस्करणको एभरेस्ट वुमन्स भलिबल लिगमा म मधेश युनाइटेडबाट खेल्दै छु । लिगका लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेकी छु । म यो सुन्दर देशमा गएर खेल्न उत्सहित छु,’ उनले भनिन् ।
मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताइन् । यसअघि नै मधेश युनाइटेडले काजकिस्तानकी हाउटसाइड हिटर कालिनोभा यभजेनियाको नाम घोषणा गरिसकेको छ ।
नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म आठ नेपाली र दुई विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ । मार्कीसहित नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् ।
यस्तै, काभा यू–२० महिला च्याम्पियनसिप खेलेकी यू–२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पूजा थारू र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् । इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेस्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।