प्रधानमन्त्रीको कार्यक्षमतामा प्रश्न गर्दै सुमनाले भनिन्– बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलो भनेर पढाइयो

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण
प्रधानमन्त्रीको कार्यक्षमतामा प्रश्न गर्दै सुमनाले भनिन्– बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलो भनेर पढाइयो

तस्बिर : संजित परियार/नयाँ पत्रिका

पूर्वशिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले शिक्षकले राजनीति गर्न पाउनुपर्छ भनेको विषयमा आपत्ति जनाएकी छिन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै श्रेष्ठले क्षमताको आधारमा नभई दलको झोला बोक्नेहरूले अवसर पाइरहेको भन्दै असन्तुष्टि  पोखिन् ।

शिक्षा, स्वास्थ्य, प्रशासन सबैतिर दलीयकरण गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘सानो हुँदा पढेकी थिएँ बलभन्दा बुद्धि ठूलो भनेर । तर, अहिले विश्वविद्यालयको अवस्था हेर्ने हो भने र धेरै माननीयहरूले यहाँ प्रकट गरेको व्यावहारिक शिक्षा हुनुपर्छ भन्दाखेरी, होइन बुद्धिभन्दा बल ठूलो, बलभन्दा दल ठूलो भनेर पढाइयो।’

प्रधानमन्त्रीकै दलको भ्रातृ संगठन अनेरास्ववियुका नेताले ठमेलस्थित सरस्वती क्याम्पसमा चिट चोराउने क्रममा परीक्षा नियन्त्रकलाई कुटेको विषय उठाउँदै पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने प्रधानमन्त्रीको कार्यक्षमतामै प्रश्न उठाइन्।

‘साउन ३० गतेतिर सरस्वती क्याम्पसमा चिट चोराउन गएका अनेरास्ववियुका नेताले परीक्षा नियन्त्रकलाई कुटे । क्याम्पस प्रमुख र क्याम्पस प्रशासन मुकदर्शक भए । त्यसको माउ पार्टीको अध्यक्ष को ? अहिलेका प्रधानमन्त्री । शिक्षालयमा दल चाहिन्छ  भनेर अहिले सेनापतिका रूपमा सबै ठाउँमा बोल्दै हिँड्ने दलगत हुनुपर्छ, शिक्षकहरूले राजनीति गर्नुपर्छ भन्ने सेनापति को हुनुहुन्छ ? अहिलेका प्रधानमन्त्री । जरोमा पनि उही, टुप्पोमा पनि उही । यसमा प्रधानमन्त्रीज्यूको कार्यक्षमता भएन भनेर नभन्नुपर्ने कारणचाहिँ के छ ?’ श्रेष्ठले प्रश्न गरिन्।
 

सुझावित समाचार