हाल भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरूको संयुक्त रूपमा अनुसन्धान गरी समाधानका उपायहरू सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरेकी छिन्।
बिहीबार नयाँदिल्लीमा शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक के.के. अग्रवालसँग राणाले सो आग्रह गरेकी हुन्।
अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा. राणाले भनिन्, ‘जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो। त्यस्तै अरू पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन्। ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरूले संयुक्त रूपमा अनुसन्धान उपायहरू सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ।’
त्यस अवसरमा प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापबारे जानकारी गराउँदै यसअन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरे। सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरूको सहभागितामा सञ्चालित छ। सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरू यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ।
गत आइतबार नयाँदिल्ली पुगेकी मन्त्री डा. राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता गरेकी थिइन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी मन्त्री डा. राणा आज अपराह्न स्वदेश फर्कंदै छिन्।