साफ यू–२० च्याम्पियनसिपमा भुटानको पहिलो जित

बिहिबार, ६ भदौ, २०८१
डिजिटल संस्करण

भुटानले साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा भुटानले बुधबार समूह ‘बी’मा माल्दिभ्सलाई २–१ ले हरायो । जितसँगै भुटानले ३ अंक जोडेको छ । भुटानले सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । माल्दिभ्सविरुद्धको खेलमा भुटान दश खेलाडीमा सीमित भएको थियो । भुटानले मध्यान्तरपछिको खेल १० खेलाडीमा प्रतिस्पर्धा गरेको थियो ।

खेलको ५३औँ मिनेटमा गोलरक्षक तेन्जिङले डिबक्सबाट बाहिर आएर बल छोएका थिए । उनी सीधै रातो कार्ड व्यहोरी मैदानबाट बाहिरिए । त्यसपछि भुटानको दोस्रो रोजाइका निमा लोत्सेले गोलरक्षकको भूमिका निर्वाह गरेका थिए । 

भुटानका लागि जितसुन दोर्जी र नेवाङ छोपेलले गोल गरेका थिए । खेलको २२औँ मिनेटमा जितसुन दोर्जीले भुटानलाई १–० को अग्रता दिलाए । त्यसपछि माल्दिभ्सका इसाफु फिराकले १–१ को बराबरी गोल फर्काए । उनले फ्रिकिकमा बराबरी गोल गरेका हुन् । 

खेल‌ सकिन एक मिनेट बाँकी रहँदा छोपेलले गोल गर्दै भुटानलाई २–१ को रोमाञ्चक जित दिलाएका थिए । समूह ‘बी’को पहिलो खेलमा भारतले भुटानलाई १–० ले हराएको थियो । यस खेलमा पनि भुटान १० खेलाडीमै सीमित भएको थियो । भारत र भुटानले समान ३ अंक जोडेका छन् । माल्दिभ्स अंकविहीन छ । समूहको अन्तिम खेल भारत र माल्दिभ्सबीच हुनेछ । सो खेलमा माल्दिभ्सले बराबरी खेले भुटान सेमिफाइनलमा पुग्नेछ ।

बंगलादेशको सामना गर्दै नेपाल
आयोजक नेपालले बिहीबार बंगलादेशको सामना गर्दै छ । समूह ‘ए’मा यी दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन् । नेपाल र बंगलादेशबीचको विजेता नै समूहको शीर्ष स्थानमा उक्लनेछ । दुवै टोलीले आ–आफ्ना पहिलो खेलमा श्रीलंकालाई हराएका थिए । लगातार दुई हारपछि श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ । 

सुझावित समाचार